बागलुङ, २४ जेठ– मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा स्थानीयले गरिरहेको आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङले ऐक्यवद्वता जनाएको छ । काममा ढिलासुस्ती, चरम लापर्वाही गर्ने कम्पनीको ठेक्का प्रक्रिया रद्ध गरी तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउन माग गर्दै एमालेले आन्दोलनमा ऐक्यबद्धता जनाएको हो । लोकमार्गको काममा ढिलासुस्ती भएको भन्दै काठेखोला गाउँपालिका–५ बिहुँका सर्वसाधारणले केही दिनदेखि अन्दोलन गर्दै आएका छन् ।
जिल्ला अध्यक्ष हिराबहादुर केसीले मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै स्थानीयबासीबाट लिएको रकम तुरून्त फिर्ता गर्ने वातावरण बनाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छन् । झण्डै ३० वर्ष अघिदेखि निर्माणाधिन अवस्थामा रहेको नेपाल सरकारको गौरवको आयोजना मध्यपहाडी लोकमार्ग हालसम्म निर्माणाधिन रहेको बिज्ञप्तीमा उल्लेख छ ।
सरकारले उक्त सडकको ग्रावेल तथा कालोपत्रेका लागि विभिन्न खण्डहरू विभाजन गरि ठेक्का प्रक्रियामा संचालन गरेको पनि वर्षौ भन्दै बागलुङ बजारदेखि घोडाबाँधे खण्डको अधिकांश भाग अझै कालोपत्रे हुन नसक्नु दुखद भएको केसीले बताए ।
कामको जिम्मेबारी पाएका सुर्य कन्ट्रक्शन कम्पनी र सिद्धिशाही कन्ट्रक्शन कम्पनीले वर्षौंदेखि चरम लापर्वाही र ढिलासुस्तीका कारण सडकले प्रभावित पार्ने स्थानका जनसमुदायले लामो समयदेखि सास्ती खेप्नुपरेको उल्लेख छ ।
बिज्ञप्तीमा भनिएको छ– ‘हिउँदमा धुलाम्मे र वर्षात्का समयमा हिलाम्मे हुने भएकोले बागलुङको पश्चिम भेग लगायतका स्थानबाट यातयात गर्ने यात्रुलाई समेत कष्टकर यात्रा गर्न बाध्य भएका छन । समय समयमा स्थानीय जनप्रतिनीधि, स्थानीय जनता तथा राज्य प्रशासनबाट समेत दवाव दिँदा पनि काममा चरम लापर्वाही भएको छ ।’