बागलुङ, ८ असार– बागलुङको जैमिनीका किसानले लगाएको अलैंचीमा बोट सुक्ने र जरामा ढुसी पलाएर दाना कुहिने समस्या बढेको छ । जैमिनी नगरपालिका वडा नं. ९ र १० का किसानको बारीमा यो समस्या देखिएको हो ।
ढुसी जस्तो पलाएपछि खनेर हेर्दा सबै बाली कुहिएको किसानले बताए । ‘शुरुमा बोट सुक्यो, त्यसपछि जरामा ढुसी देखियो’ जैमिनी नगरपालिका–१० का किसान केदार आचार्यले भने, ‘यस्तै अवस्था रहे आगामी बर्ष अलैंचीबाट लाखौं नोक्सानी व्यहोर्नुपर्छ ।’ आचार्यले जैमिनी क्षेत्रको जिम्मा लिएर लाखौं रुपैयाँको अलैची बेच्ने गर्छन् ।
अलैची लगाएका अधिकांस किसानको बारीमा अहिले सुकेको देखिएको छ । यतिबेला पलाएर हरियाली हुनुपर्नेमा ढुसीका कारण जरा नै मरेको आचार्यले बताए । कृषि ज्ञान केन्द्रका बागलुङका प्रमुख भानुभक्त भट्टराइले मौषमी कारणले यस्तो रोग लागेको हुन सक्ने बताए । उनले तत्काल उपचार गरेमा आगामी बर्षको उत्पादन जोगाउन सकिने बताएका छन् ।
‘यो प्राकृतिक र हावापानीमा आएको समस्या पनि हो, तर उपचारले निको हुन्छ’ उनले भने, ‘ल्याब परीक्षण गरेर उपचार गर्दा दिगो समाधान गर्न सकिन्छ ।’ अत्याधिक गर्मी बढ्ने र सिंचाइको अभाव भएका स्थानमा फंगस लाग्ने गरेको र तत्काल उपचार नगरे सबै बाली नष्ट हुने उनले बताए । सुख्खा मौषम र अत्याधिक गर्मी बढेको बेला अलैचीमा नियमित सिंचाइ गर्नुपर्ने भट्टराइले सुझाएका छन् ।
यसअघि पनि गर्मी मौषम भएका स्थानमा यो रोग देखिएको थियो । तर समयमा उपचार गरेमा निको गराउन सकिएको भन्दै तत्काल किसानलाई आफ्नो उत्पादनको दाना ल्याएर ल्याब परीक्षण गर्ने र उपचारका लागि औषधी लैजाने काम गर्न आग्रह गरेका छन् । ‘यो फंगस लागेको शुरु शुरुमा पात मात्रै मर्ने हो, दानामा असर परेको छैन’ उनले भने, ‘ढीला भयो भने दाना कुहिएर सकिन्छ ।’
उनले तत्काल दानामा असर नपर्दै उपचार गर्न प्राविधिक खटाउने समेत बताएका छन् । असर परेको आधारमा औषधी, बिषादी समेत छर्कने व्यवस्था गर्न सकिने उनले बताएका छन् । आवस्यकता हेरेर केन्द्रले मन्त्रालय वा अन्य स्थानबाट बिषादी मगाउने बताएका छन् । त्यसका लागि किसानको माग आउनुपर्ने समेत बताए ।
‘हाम्रा प्राविधिकले पनि हेरीरहनुभएको छ, तर कताकता भन्ने थाहा नभएर होला’ उनले भने, ‘छिटै उपचारपछि निको बनाउने प्रयास हुनेछ ।’ पछिल्लो समय बागलुङमा ११३ हेक्टर जमिनमा लगाएको अलैचीबाट ३८ मेट्रिकटन अलैची उत्पादन हुने गरेको छ । किसानले त्यसबाट लाखौं रुपैयाँको कमाइ गर्न थालेका छन् । यो बर्ष प्रतिकेजी १ हजार २ सय रुपैयाँमा यहाँका किसानले अलैची बेचेका थिए ।