बागलुङ, १४ असार– ढीलागरी बर्षात भएकोले बागलुङमा असार १४ गतेसम्म २० प्रतिशत मात्रै रोपाइ भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइका अनुसार यो बर्ष ढीलागरी रोपाइ शुरु भएको हो ।
बागलुङको कुल धान खेत रहेको ६ हजार हेक्टर जमिनमध्ये १ हजार २ सय हेक्टरमा मात्रै रोपाई भएको हो । बागलुङमा हाल अधिकांसले परम्परागत धान लगाउने गरेका छन् । केही स्थानमा उन्नत जातको धान खेती गरिन्छ । प्रमुख बाली धान भएपनि खडेरीका कारण रोप्ने काम ढीला भएको हो ।
केही दिनदेखि पानी पर्न थालेकोले असार मसान्त सम्ममा भने अधिकांसले धान रोपिसक्ने उनले बताए । केन्द्रको तथ्यांक अनुसार बागलुङमा अन्जादी २० हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ । ‘गुणस्तरीय बीउ छनौट गर्ने, उन्नत जात लगाउने बानी विकास गर्दा अझै बढाउन सकिन्छ’ भट्टराइले भने, ‘धान लगाउने जग्गानै बढी छ, कतिपय स्थानको तथ्यांकै लिइएको छैन ।’
बागलुङको तमानखोला र ताराखोला गाउँपालिकाबाहेक अन्य पालिकामा धेरै क्षेत्र धान लगाउने गरिन्छ । कृषिबाट सिफरिस गरिएका गौरिया, जेठोबुढो, राधा, खुमलटार धान रोपेपनि हालको तथ्यांकमा ५० प्रतिशत उत्पादकत्व बढाउन सकिने उनले बताए ।