पोखरा, २३ असार– कांग्रेस र माओवादी तथा नेकपा एकीकृत समाजवादीका एक सांसदसहित गण्डकीमा गठबन्धनको सरकार छ । मुख्यमन्त्रीदेखि आर्थिक मामिला मन्त्री कांग्रेसका छन । वितरणमुखी काम गर्ने सामाजिक विकास तथा सबैभन्दा बढी बजेट चलाउने भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व माओवादीको भागमा छ ।
मुख्यमन्त्रीसहित ७ मन्त्रालय रहेको गण्डकी सरकारमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले असार १ गते आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट पेश गरे । ३३ अर्ब ४२ करोड ७२ लाखको उक्त बजेट शुक्रबार बहुमतले पारित भएको छ ।
तर,बहुमतले पारित हुँदै गर्दा पनि सत्तापक्षकै सांसदहरु मुखरित भएर बजेटको आलोचनामा उत्रिए ।यतिसम्म कि सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाको राजीनामा नै माग्ने विषय कांग्रेस संसदीय दलको बैठकमा उठ्यो । कांग्रेसका अधिकांश सांसद सिम्खडाले राजीनामा दिनुपर्ने विषयमा मुख्यमन्त्रीलाई दबाब दिए ।
उनीहरुले विरोध गर्नुको कारण चाहिँ सामाजिक विकास मन्त्रालयका वार्षिक विकास कार्यक्रमलाई लिएर थियो । साढे ५ अर्ब बजेट भएको यो मन्त्रालयले आगामी आर्थिक वर्षमा सार्वजनिक गरेको कार्यक्रममध्ये उपल्लो मुस्ताङ क्षेत्र समेटिएको सिंगो निर्वाचन क्षेत्रमा एउटा पनि योजना परेको छैन ।