पर्वत, ५ साउन– जनप्रतिनिधि बीचको विवादका कारण नगरसभा हुन नसक्दा पर्वतको कुश्मा नगरपालिकामा राजस्व संकलन ठप्प बनेको छ । नगरपालिकामा गत साउन १ गतेदेखि नै राजस्व संकलन रोकिएको हो ।
नगरसभाले आगामी आर्थिक वर्षका लागि राजस्वको दररेट निर्धारण गरी पारित गर्नुपर्ने भएपनि नगरसभा नै हुन नसकेपछि साउन १ गतेदेखि कुनैपनि कर संकलन नभएको प्रमुख प्रशासकीय अधिकृत चण्डीका पौडेलले जानकारी दिए ।
कर संकलन नहुँदा घर जग्गाको तिरो तिर्ने, नक्सा पास, सिफारिस लगायतका काम रोकिएका छन् भने नागरिकता लगायतका वडा तहबाट हुने सिफारिस मात्र भएका छन् । साउन १ गतेदेखि सबै सेवा विना रसिद प्रदान गरिएको कुश्मा –१२ ठूलीपोखरीका वडाध्यक्ष झलक रिमालले जानकारी दिए ।
गत असार १० गतेभित्रै नगरसभा गर्नुपर्ने र त्यसबाट आगामी आर्थिक वर्षका लागि राजस्व संकलनसम्बन्धी आर्थिक विधेयक पारित गर्नुपर्ने भएपनि कुश्मा नगरपालिकामा नगरसभा नभएका कारण राजस्व संकलनको काम ठप्प भएको हो ।
राजस्व संकलन हुन नसक्दा घर जग्गाको नाक्सा पास, सिफारिस दस्तुर, व्यापारिक कर, व्यक्तिगत घटना दर्ता, बहाल कर, पटके व्यवसाय कर, एकीकृत सम्पत्ति कर आदि सेवा लिएर नगरपालिका जानेहरु रित्तो हात फर्किन बाध्य भएका छन् ।