बागलुङ, ७ साउन– प्राणघातक रोग ‘एआरपिसी वनबी डिफिसेन्सी’ संक्रमण पुष्टि भएका पर्वतका एक बालकको उपचारका लागि आन्तरीक राजश्व कार्यालय बागलुङले एक लाख रुपैयाँ सहयोग गरेको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ बस्ने सरोज प्रकाश सुवेदीका एक बर्षिय छोरा प्रसान्त सुवेदीको उपचारका लागि कार्यालयले आर्थिक सहयोग गरेको हो । आन्तरीक राजश्व कार्यालय बागलुङमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका सरोजका छोरा प्रसान्तको उपचारमा झण्डै एक करोड खर्च हुने अनुमान छ ।
मध्यम परिवारका सुवेदीको उपचारका लागि कार्यालयका कर्मचारीले स्वस्फुर्त सहयोग गरेका हुन् । कार्यालयमा कार्यरत कर्मचारीहरुले स्वस्फुर्त चन्दा संकलन गरेर एक लाख रुपैयाँ सहयोग गरेको कार्यालयले जनाएको छ ।
प्रसान्तको उपचारका हालसम्म १५ लाख रुपैयाँ खर्च भएको सरोज प्रकाशले बताए । उनको उपचार नेपालमा सम्भव नभएको र भारतमा उपचार गर्दा झण्डै एक करोड खर्च हुने अनुमान चिकित्सकले गरेका छन् । ‘एआरपिसी वनबी डिफिसेन्सी’ले शरिरमा रहेको प्रतिरक्षा प्रणालि निकै कमजोर बनाउने हिमाल खबर पत्रिकाले गरेको खोजमा उल्लेख छ ।
प्रतिरक्षा बिषेशज्ञ डा. धर्मागत भट्टराईका अनुसार यो रोग पहिचान भएको विश्वभर १८ जना र नेपालमा दुई जना बिरामी छन् । पर्वतका प्रसान्त संक्रमण पुष्टि हुने दोस्रो बिरामी हुन् । यसअघि पर्वतकै कुश्मा नगरपालिका–१४ का सन्दीप पौडेलका ६ बर्षिय छोरामा यो रोगकको संक्रमण पुष्टि भएको थियो ।
यो रोगमा बच्चाको रोग प्रतिरोधात्मक क्षमता ज्यादै कमजोर हुने भएकोले बच्चालाई बारम्बार संक्रमण हुने, कान पाक्ने, लिम्फ ग्रन्थी सुन्निने, दिसापिसाब, मुख र गिजाबाट रगत आउने, शरीरका विभिन्न भागमा राता दाग, चिलाउने घाउ र एलर्जी हुने गरेको छ । यस रोगमा बच्चा जन्मेदेखिनै निरन्तर विरामी भैरहने हुँदा अस्पताल लगिरहनुपर्ने र त्यसको लागि पटक÷पटक गरेर १५ लाखभन्दा बढी रकम खर्च भैसकेको छ ।
विशेषज्ञ डा.का अनुसार यस रोगको उपचारको लागि विशेष किसिमको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ । जून नेपालमा हुन नसक्ने भएकोले भारत लैजानुपर्ने र त्यसको लागि ७० लाख भन्दा धेरै खर्चहुने सुझाव आएको सुवेदीले बताए ।
बोनम्यारो प्रत्यारोपण गर्नुभन्दा पहिले बच्चालाई अप्रेशनको लागि तयार गराउन कम्तिमा ४÷५ महिनासम्म प्रत्येक ३ हप्तामा शरिरमा एन्टिवडी चढाउनुपर्ने र त्यसको लागि प्रत्येक पटकको करिब ५० हजार खर्च लाग्ने सुवेदीले बताए ।