बागलुङ, २० साउन– जिल्लाको ताराखोला गाउँपालिकाले पछिल्लो चार बर्षमा आन्तरिक आयमा ३२ लाखले बृद्धि गरेको छ । गाउँपालिकाले करका दर र विकास निर्माणका कामलाई अघि बढाउँदा आन्तरिक आयमा बृद्धि भएको हो ।
गत आर्थिक बर्षको असार मसान्तसम्म मात्रै गाउँपालिकाले ७४ लाख ३१ हजार १ सय ९८ रुपैयाँ राजश्व संकलन गरेको छ । यो गाउँपालिकाले अनुमान गरेको भन्दा १९ लाख ३१ हजार १ सय ९८ रुपैयाँले बढी हो । गाउँपालिकाले गत आर्थिक बर्षमा ५५ लाख रुपैयाँ मात्रै आन्तरीक आयको अनुमान गरेको थियो ।
आर्थिक बर्ष २०७६/०७७ मा ४२ लाख ६२ हजार पाँच सय ३० रुपैयाँ आन्तरीक राजश्व संकलन गरेको गाउँपालिकाले २०७७÷०७८ मा ५१ लाख ५६ हजार पु¥याएको थियो । आव ७८/०७९ मा ५८ लाखभन्दा माथी पुगेको आन्तरीक आय आव २०७९/०८० मा ७४ लाख पुगेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले बताए ।
‘हाम्रो गाउँपालिकामा भएका स्रोत साधनको परिचालनमा ध्यान दिएका छौं, करका दर फराकिलो बनाउँदा आन्तरीक आयमा बृद्धि भएको हो ।’ गैरेले भने ‘संघीय र प्रदेश सरकारका ठुला ठुला आयोजना सञ्चालन हुनुले पनि राजश्व बृद्धिमा सहयोग गरेका छन् ।’
गाउँपालिकाले ढुंगा, गिट्टी बालुवामा लगाएको करले कर बृद्धिमा मुख्य भुमिका खलेको छ । वडा तहमा हुने सिफारिस, नाता प्रमाणितजस्ता शिर्षकहरुबाट पनि ताराखोलालले उल्लेख्य राजश्व बृद्धि गरेको हो ।