बागलुङ, २५ साउन– सदरमुकाम बागलुङ बजारमा एकमात्रै सरकारी अस्पताल छ । कुश्मीशेरा, गलकोट र बुर्तिबाङमा प्राथमिक स्वास्थ्य केन्द्रहरु । दुरदराजका गर्भवतीलाई सुत्केरी हुने समयमा नजिकैमा ‘बर्थिङ सेन्टर’ नहुँदा सधैंको सास्ती ।
भुगोलका कारण अस्पताल र स्वास्थ्य केन्द्रमा पुग्नै कठिन् । कयौं गर्भवतीको सुत्केरी हुन नसकेकै कारण ज्यान गएका घटना पनि छन् । नजिकैका स्वास्थ्य संस्थामा ‘बर्थिङ सेन्टर’ नभएका कारणले पनि गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य जोखिममा हुने गरेको थियो । तर, बिस्तारै ‘बर्थिङ सेन्टर’ पहुँचमा पुग्न थालेका छन् ।
गर्भवती, सुत्केरी र नवजात शिशुको सुरक्षा स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा मात्रै हुन्छ । ‘बर्थिङ सेन्टर’ नहुने हो भने स्वास्थ्य संस्थाले मात्रै सुत्केरी गराउन कठिन् । भौगोलिक बनोटका कारण सबै नागरिकको ‘बर्थिङ सेन्टर’ सहितको स्वास्थ्य संस्थामा पहुँच नभएको भन्दै ३६ स्वास्थ्य संस्थामा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएका छन् ।
स्थानीय सरकार, प्रदेश र संघ सरकार अन्तर्गतका कार्यालय र सामाजिक संस्थाको सहकार्यमा बागलुङमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएका हुन् । पछिल्लो ६ बर्षमा दश स्थानीय तहका ३६ वटा स्वास्थ्य संस्थामा ‘बर्थिङ सेन्टर’ बिस्तार गरिएको हो ।
ग्रामिण स्वास्थ्य सुधार परियोजना, विवाईसी बागलुङ र फेयरमेड फाउण्डेसनले तीन तहका सरकारसँग सहकार्य गरेर ‘बर्थिङ सेन्टर’ विस्तार गरेका हुन् । ‘स्थानीय तह गठनपछि आमा र बच्चाको सुरक्षामा ध्यान पुगेको छ, साझेदार संस्थाले सामान्य सहयोग गर्दा पनि सक्रियताका साथ स्थानीय तहले ‘बर्थिङ सेन्टर’का लागि संरचना र जनशक्ति तयार गर्नुभएको छ’ विवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले भने ‘हामी छ बर्षमा इक्युप्मेन्ट मात्रै लिएर पुगेका ठाउँमा पनि प्रभावकारी ‘बर्थिङ सेन्टर’ सञ्चालन भएका छन् ।’
परियोजनाले जिल्लाका केही स्वास्थ्य संस्थामा बच्चाको धड्कन नाप्ने मेसिन, चार स्वास्थ्य संस्थामा भिडियो एक्सरे मेसिन र १७ स्वास्थ्य संस्थामा प्रयोगशाला उपलब्ध गराएको छ । ‘सरकारले योजना नबाएर काम गर्न नसक्दा अझै पनि सहयोगी गैह्रसरकारी संस्थाहरुको साथ खोजीरहनुपरेको छ’ जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले भने ‘स्रोत साधनको परिचालनमा सरकारनै जिम्मेबार भएर लाग्नुपर्छ, सहयोगी संस्थाहरुको साथ आवश्यक छ ।’ उनले सरकारको ध्यान नपुगेको ठाउँमा परियोजनाले ध्यानाकर्षण गराएको बताए । स्थानीय सरकारसँग इच्छाशक्ति भएर पनि स्रोत नहुने र प्रदेश तथा संघ सरकारसँग चरणबद्ध विकासको योजना नभएकै कारण अझैपनि स्वास्थ्य क्षेत्रमा समस्या रहेको उनले बताए ।
जिल्लाभर स्थापना भएका ‘बर्थिङ सेन्टर’, प्रयोगशाला र गाउँघर खोप क्लिनिक भवनजस्ता संरचनाले स्वास्थय सुधारमा सहयोग पु¥याउने उनले बताए । परियोजनामार्फत ६ बर्षमा जिल्लाभर २० वटा प्रसुती प्रतिक्षाघर, १८ वटा गाउँघर खोप क्लिनिक भवन तयार भएको फेरमेड फाउण्डेसनका कार्यक्रम संयोजक गणेश बरुवालले बताए । परियोजनाले ‘बर्थिङ सेन्टर’ स्थापना र स्तरोन्नती तथा उपकरण मर्मतमा काम गर्दै आएको छ ।