बागलुङ, २५ साउन– राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि बागलुङ र नगर कमिटि बागलुङले ‘एक युवा पाँच बिरुवा’ अभियान सुरु गरेको छ । दुवै कमिटिले संयुक्त रुपमा अभियानको थालनी गरेका हुन् ।
युवाहरुलाई सिर्जनशिलतासँग जोड्न, भावी पुस्ताप्रति सचेत र सजग गराउनका लागि अभियानको थालनी गरेको राष्ट्रिय युवा संघ बागलुङका अध्यक्ष बुद्ध बोहराले बताए । युवा संघ जिल्ला र नगर कमिटिले अभियानको सुरुवात गर्दै संयुक्त रुपमा सरसफाई तथा वृक्षारोपण आयोजना गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एंव नवलपरासी इन्चार्ज क. मन कुमारी केसीले चन्दनको बिरुवा रोपेर अभियानको थालनी गरेकी थिईन् । उनले युवाहरुले रचनात्मक र प्रभावकारी काम गर्दै रोजगारी र उत्पादनसँग जोडिनुपर्ने बताईन् ।
कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य तथा बागलुङ नगर उत्प्रेरक सुजन केसी, नेकपा एमाले बागलुङ जिल्ला कमिटिका उपसचिव गणेश थापा, नेकपा एमाले नगर कमिटि बागलुङका अध्यक्ष धनबहादुर परियार, राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटि सदस्य दिपेन्द्र रेग्मी तथा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटि बागलुङ कार्यवहाक अध्यक्ष प्रेम रोकाले बोलेका थिए ।
युवा संघले बागलुङ नगरपालिका–१ रामरेखामा रहेको मदन–आश्रीत पार्कमा बृक्षारोपण तथा सरसफाई गरेका थिए । ऋषिका नर्सरीका संचालक भुवन बोहोराले राष्ट्रिय युवा संघ नेपाललाई बिरुवा उपलब्ध गराई सहयोग गरेका थिए ।
कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि बागलुङका अध्यक्ष बुद्ध बोहोराको अध्यक्षता र राष्ट्रिय युवा संघ नेपाल नगर कमिटि बागलुङ सचिव बिजय सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।