बागलुङ, ३२ साउन– बिरामीको चाप बढीरहेको छ । बिशेषज्ञ डाक्टरहरुको उपस्थितिले धौलागिरि अस्पतालमा उपचार गराउनेहरु पनि बढेका छन् । तर यही मौकामा यहाँ कार्यरत डाक्टरको सरुवा हुँदा सेवामा समस्या थपिएको छ ।
चार महिनाअघि धौलागिरि अस्पतालमा आएका एमडिजिपी डाक्टर हेमन्त बास्तोला सरुवा भएर पर्वत गएपछि मुख्य समस्या थपिएको हो । एमडिजिपी भएकोले उनले अस्पतालमा सबैजसो सेवा हेर्न सक्थे । सबै सेवा दिन सक्ने एमडिजिपी डाक्टरको खोजी धेरै स्थानमा हुने गरेको छ ।
अस्पतालमा आएको चार महिनामै उनलाई गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा सरुवा गरेको छ । उनी मंगलबारै बिदाइ लिएर हिंडेका छन् । बास्तोलाले इमरजेन्सी, स्त्रीरोग विभाग र शल्यक्रियामा योगदान गरेका थिए ।
गतबर्षदेखि बागलुङलाई दुर्गम जिल्लाबाट हटाएर सुगम बनाइएको छ । पर्वत र म्याग्दी भने अझै दुर्गममा छन् । छात्रवृत्ति कोटाका डाक्टरले दुर्गम भनेर पर्वत रोज्ने गरेका थिए । स्थायी पदका बास्तोलालाई पनि पर्वतमा सरुवा गर्दा दैनिक ३ सय बिरामी आउने धौलागिरि अस्पतालको सेवामा समस्या परेको छ ।
त्यस्तै रेडियोलोजिष्ट प्रसुन घिमिरेको एक बर्षमा सरुवा पत्र आएको छ । घिमिरे ट्रमा सेन्टर काठमाण्डौ सरुवा भएका हुन् । दुइ साताअघि धौलागिरी अस्पतालमा सिटीस्क्यान मेसिन ल्याइएको छ । बर्षौदेखिको पहलपछि आएको मेसिन जडानको काम शुरु भएकै बेला घिमिरे सरुवा भएपछि मेसिन हेरिदिने दक्ष डाक्टर समेत नभएका हुन् । घिमिरे छात्रवृत्ति कोटामा आएका थिए ।
अस्पतालमा आएका चिकित्सक छोटो समयमा सरुवा हुँदा अपरेशन सेवादेखि उपचार, प्राविधिक लगायतका सेवामा असर परेको डाक्टर अमित ढुंगानाले बताए । ‘बिशेषज्ञ डाक्टरहरु भएकोले जटिल समस्याहरु उपचार गर्न सकिएको थियो, अब केही अप्ठ्यारो त पर्ने नै भयो’ ढुंगानाले भने, ‘व्यवस्थापन समितिले छिटै केही व्यवस्था गर्नुपर्छ ।’
२ सय शैयाको अस्पताल बन्ने क्रममा रहेको र अस्पतालमा धेरै सेवा बिस्तार भएकै बेला यस्ता चिकित्सक सरुवा हुने कुरा दुखद भएको अस्पतालकी बरिष्ठ नर्सिङ अधिकृत देवी भट्टराइले बताइन् । अस्पताल व्यवस्थापन समितिकी सदस्य लक्ष्मी जिसीले पहल गर्दा गर्दै मन्त्रालयको चाहनाले डाक्टरको सरुवा हुने गरेको प्रतिक्रिया दिइन् । ‘डाक्टर नभएका अस्पतालमा नयाँ खोज्ने हो, भएका सरुवा गरेर लैजाने होइन’ जिसीले भनिन्, ‘एउटा अस्पताल शुन्य बनाएर अर्कोमा लैजाँदा न्याय हुँदैन ।’ सरुवा हुन पाउने अधिकार भएपनि अस्पतालहरु सबैमा एमडिजीपी डाक्टर भैदिए राम्रो हुने उनले बताइन् ।
तित्याङ स्वास्थ्य चौकी जोगाउन पालको भर
जोखिम त केही बर्ष अघिदेखिकै हो । तर गत साता आएको बर्षात्ले तित्याङ स्वास्थ्य चौकीमा फेरी जोखिम निम्तेको छ ।
बिरामी आउने बाटो नै बगेको छ । स्वास्थ्य चौकीको पिलर नजिकैबाट पानीको मुल निस्केपछि माटो बग्न थालेको हो । आकासबाट पनि बर्षात् भैरहेको छ, मुलले पनि माटो थप बगायो’ वडा अध्यक्ष राजु थापाले भने, ‘तत्कालका लागि पाल राखेर पानी तर्काएका छौं ।’ भदौ र असोज महिना पहिरो रोक्न सकेमा हिउँदमा संरक्षण गर्ने उनले बताए ।

झण्डै तीन बर्षअघि निर्माण सम्पन्न भएपनि भवनकै आँगनसमेत नरहने गरी यहाँ पहिरो गएको छ । ‘पहिरोको खुकुलो माटो झन् बग्न थालेपछि संरक्षण गरिएको थापाले बताए । ‘करोडौंको भवन भत्कियो भने कसरी बनाउने ?’ उनले भने, ‘जसरी पनि संरक्षण गर्न खोजेका छौं ।’ पहिरोले तित्याङदेखि सिगानाहुँदै बौंडेचौर जाने सडक पनि बगेको छ । ग्याबिन जाली लगाएपनि त्यसले थेग्न नसकेपछि स्थानीयले पालबाट मुलको पानी तर्काएको बताए ।
पहिरो खस्यो भने स्थानीयको धान खेतसमेत पुरिन्छ । स्वास्थ्य चौकी आउने बाटो पनि बन्द हुनेछ । खेतै खेत भएको स्थानमा भवन बनेको हो । बर्षात्मा भवनको पछिल्लो भागमा पानीको मुल फुट्ने गरेको छ । यो पटक घरदेखि तल्लो खण्डमा पनि मुल निस्केको स्थानीय चन्द्रबीर खड्काले बताए । १ करोड ७५ लाखमा भवन बनेको थियो । जग्गा भने स्थानीयले दिएका थिए । तर डोजर लगाएर जमिन सम्याउने क्रममा थर्केर मुल सरेको र पहिरो चल्न थालेको स्थानीयको गुनासो छ ।
पहिरो नियन्त्रणका लागि वडा कार्यालयले गतबर्ष पनि बजेट माग गरेको थियो । तर नगरपालिका र अन्य निकायबाट रकम नपाएकाले समस्या थपिएको थापाले बताए । पहिरो नियन्त्रणका लागि स्वास्थ्य चौकीदेखि तलको सडकमा पक्की पर्खाल लगाउने, पानी तर्काउने र स्वास्थ्य चौकीको आँगन पनि उकास्ने गर्नुपर्ने उनले बताए । त्यसका लागि वडामा बजेट नभएको, पालिकाबाट पनि तत्काल रकम ल्याउन सकिने अबस्था नभएपछि हिउँदमा अन्य श्रोत खोज्ने गरी अस्थायी संरक्षण गरिएको थापाले जानकारी दिए । रेडक्रस लगायतका संस्थाले वडा तथा स्वास्थ्य चौकीमा दिएका पाल संकलन गरेर अस्थायी रुपमा पानी तर्काउने काम भएको हो ।