८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

पुष्प व्यवसायमा भुवनको लोभलाग्दो लगाव


जनमञ्च संवाददाता
  • २५ कार्तिक २०८० , शनिबार

  • पुष्प व्यवसायमा भुवनको लोभलाग्दो लगाव

    बागलुङ, २५ कात्तिक– उमेरले बल्ल ३४ वर्षका भए । पढाइ उनको विज्ञान संकाय हो । तर कृषि पेशामा छन् । अर्थात् उनको दैनिकी फूलसँगै खेलेर बित्छ ।
    बागलुङ नगरपालिका–१ का भुवन बोहराले भारतको दिल्ली विश्वबिद्यालयमा बिएससी बोटनी पढेपछि सहर रोजेनन् । सन् २०१५ मा पढाइ सकेर नेपाल फर्केपनि उनले आफ्नै घरमा पुष्प व्यवसाय गरेर बसेका छन् । बानपा–१ रामरेखामा उनको ‘ऋषिका नर्सरी फर्म’को फूलै फूल देख्दा जोकोहीलाई मोहित बनाउँछ ।
    बाबु चतुरबहादुर भारतीय सेनाका निवृत्त, राजनीतिक र सामाजिक कार्यकर्ता हुन् । तरपनि उनले आफ्नो घरमा सँधै फूलैफूलको मौषम बनाए । धार्मिक महत्वका बिरुवादेखि सुन्तला, आँप र लिचीका बिरुवा उत्पादन गर्छन् । रुद्राक्ष, धुपी लगायतका बिरुवा त उनको नर्सरीमा मात्र पाइने भएकोले बेला बेला छिमेकी जिल्लाबाट पनि माग आउने गरेको छ । घरलाई नै आर्कषक नर्सरी जस्तै बनाउने उनको पुरानै चलन हो । त्यसमा छोराबुहारीले यसैलाई व्यवसाय बनाएपछि बाबु पनि खुसी छन् ।


    यस्तो वातावरणमा हुर्केका भुवनले बिज्ञान संकायको पढाइ सकेर घरमै फर्केर पुष्प व्यवसायमा रमाउने मन गरे । झण्डै ७ बर्ष भयो उनले फूलको व्वयसायिक संगत गर्न थालेका छन् । उनको यो संगतमा थपिइन् जीवन संगीनी बिनिता । धौलागिरि बहुमुखी क्याम्पसबाट बिएस्सी बोटनी पढेकी बिनिताले त व्यवसायको प्राविधिक क्षेत्र हेर्ने गरेकी छिन् ।
    आन्तरिक व्यवस्थापन भुवनले हेर्छन् भने बजार व्यवस्थापनमा बाबु चतुरबहादुर सक्रिय छन् । आफ्नो र भाडाको गरी ४ रोपनी जमिनमा गरिएको पुष्प व्यवसायप्रति बोहोरा परिवार निकै खुसी छन् । पुष्प व्यवसायबाटै केही गर्न संभव छ भन्ने देखेर यो क्षेत्रमा होमिएको उनले बताए ।
    ‘हामीले टनेलमा गोलभेडा खेती गर्नुभन्दा फूलखेती गर्दा धेरै फाइदा छ’ बोहोराले भने, ‘मौषमी र बेमौषमी फूल खेती गरेर राम्रो कमाइ गर्न सकिन्छ ।’ बेमौषममा फूलकै ड्याङमा स्ट्रबेरी लगाएर पनि प्रसस्त आम्दानी गर्न सकेको उनले बताए । यो बर्षको तिहारमा उनले ५ लाखको फूलको कारोवार गर्न सक्ने लक्ष राखेका छन् ।
    भारतबाटै उनले बीउ मगाएर नर्सरीमा उमारेका हुन् । सयपत्री जस्तै देखिने प्याकेटस समूहको इन्डिका प्रजातीको फूल उनले लगाएको बताए । ‘यो फूलको पनि २ सय ७५ प्रजाती छन् । तर यो मौषममा हुने खालको बिरुवा उत्पादन गरेर लगाएका हौ’ उनले भने, ‘समुन्द्री सतहको ९ सयदेखि १२ सय मीटर सम्मको खण्ड यो फूलका लागि उपयोगी छ ।’ उनले बागलुङ बजारदेखि कुँडुले, रात्माता, तित्याङ, सिगाना आसपासका क्षेत्रमा यो फूलको व्यवसायिक उत्पादन गर्न सकिने बताए ।
    बिशेषगरी फूललाई अत्याधिक पानी र चिसोबाट बचाउनु पर्छ । त्यसैले प्लाष्टिकभित्र उमार्ने, बिरुवालाई मात्र खुला गरेर सबै स्थान प्लाष्टिकले ढाकेपछि त्यसले पानी जम्नबाट बचाउने उनले बताए । यो बिधिलाई मल्चिङ भनिन्छ । घमाइलो हुँदा फूलले धेरै उत्पादन दिने गरेको उनीहरुको अनुभव छ । ‘धाराको पानी नियमित राख्ने, तर जरामा जम्म नदिने बिधिले उत्पादन राम्रो लिन सकिन्छ’ बिनिताले भनिन्, ‘तोकिएको प्रविधि पुगेन भने फूलले पर्याप्त उत्पादन दिन सक्दैन ।’ घरेलु विधिले फूल रोप्ने हो भने हरेक ५ बोटमा तीनवटा मंगले र २ वटा मात्रै राम्रो हुने गरेको उनीहरुको अनुभव छ ।


    बागलुङ कालीका मन्दिर र म्याग्दीको गलेश्वरबाट बोहोराको फर्ममा नियमित फूलको माग आउने गरेको छ । सहकारी संस्थाको साधारणसभा, राजनीतिक दलको कार्यक्रम लगायतमा पनि उनको फर्मबाट फूल प्रसस्त बिक्री हुन्छ । ‘अहिले पनि बर्षको ५ सय क्विन्टल फूल बिक्री भैरहेको छ’ बोहोराले भने, ‘संस्थागत रुपमा बिक्री गर्ने हो भने अझै बढ्छ ।’ बाहिरबाट फूलको आयात रोक्ने र किसानहरुले फूललाई व्यवसायिक बनाउने हो भने उपभोक्ताले पनि सस्तो पाउँने उनले बताए । आयातित फूल महंगो परेको उनले सुनाए ।
    फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्यांकमा नेपालमा हरेक बर्ष छ अर्बको फूलको कारोवार हुन्छ । त्यसको ८० प्रतिशत आयातित हो । ग्रामीण क्षेत्रमा उपयोग भएको फूलको तथ्यांक त्यसमा जोडिएको छैन । तसर्थ करोडौं रुपैयाँ कमाउने गरी पुष्प व्यवसाय गर्न सकिने अवस्था रहेको उनले बताए ।
    केही समयदेखि बागलुङ नगरपालिकाले तरकारी र फलफूलजन्य बस्तुको आयातमा रोक लगाएको छ । ‘स्थानीय उत्पादनले पुग्ने भएसम्म आयातित नगरौं भन्ने हो’ नगर प्रमुख बसन्तकुमार श्रेष्ठले भने, ‘उत्पादनमा लागेका स्थानीयलाई प्रवद्र्धनमा सहयोग गर्छौ ।’ फूलको उत्पादन बढाएर रोजगारी दिन सकेमा नगरपालिकाले पनि साथ दिने उनले बताए । बोहोराले ३ जना कामदारलाई प्रत्यक्ष रोजगारी दिएका छन् भने घरका तीन जनाले पनि नियमित काम गरिरहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend