बागलुङ, २५ कात्तिक– तिहार र छठ पर्वका लागि बागलुङ नगरपालिकाको तोकिएका स्थानमा सहुलियत मूल्यमा चिनी पाइने भएको छ । प्रधान ब्रदर्शले सस्तो मूल्यमा ल्याएको ३ सय बोरा चिनी सहुलियत दरमा बिक्री गर्न दिने भएपछि बागलुङ नगर भित्र सस्तो मूल्यको पसल तोकेर चिनी बेचिने भएको हो ।
बागलुङ नगर उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष तथा नगर उपप्रमुख राजु खड्काको अध्यक्षतामा शुक्रवार बसेको बैठकले तत्काल उक्त चिनी उपभोक्तालाई बिक्री गर्न लगाउने निर्णय गरेको हो । शनिबारदेखिनै उक्त चिनी बिक्री गर्ने गरी पठाउने प्रधान ब्रदर्शका प्रोपाइटर कमल प्रधानले बताए ।
हाल बजारमा १ सय ३५ रुपैयाँमा चिनी बिक्री भैरहेको छ । सहुलियत चिनी भने प्रतिकेजी १ सय १२० मा पाइनेछ । सहुलियतमा दिँंदा एउटै व्यक्तिले धेरै लैजाने भएकोले बढीमा ५ केजी मात्र लैजान पाउने गरी दश वटासम्म पसललाई बितरण गरेर बिक्री गर्ने व्यवस्थापन गरिने खड्काले बताए । त्यसका लागि मुख्य बजारसहित बलेवा, सिगाना, तित्याङमा चिनी पठाउने व्यवस्था हुनेछ । बजार बाहिर पठाउने चिनीको ढुवानी नगरपालिकाले गरिदिने भएको हो ।
केही महिनादेखि चिनीको मूल्य अत्याधिक हुँदा उपभोक्ता मारमा छन् । भारतबाट चिनी नआउँदा महंगो भएको हो । तिहार र छठपछि भने भारतबाट चिनी आएर बजारमा सस्तो हुने व्यवसायीले आंकलन गरेका छन् । ‘केही समयपछि त सबै पसलमा चिनी सस्तो हुन्छ’ बागलुङ उद्योग बाणिज्य संघका सदस्य राजु गौतमले भने, ‘चाडपर्वमा उपभोक्तालाई महंगो परेको हो ।’ यो निर्णयले बजारमा चिनीको मूल्य सस्तो बनाउन पनि सहज हुने खड्काले जानकारी दिए ।