बागलुङ, २ पुस– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुनमा हुने महासमिति बैठक भावी नेतृत्व, सरकारका मन्त्रीको पुर्नगठन र कांग्रेसको रुपान्तरणको कोषेढुंगा हुने बताएका छन्ु ।
नेपाल प्रेस युनियन बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले महासमिति बैठकले देशकै भविष्यसमेत निर्माण गर्न सक्ने बताए । उनले अब मिसन ८४ भन्दा पनि १५ बर्षको सपना देख्नुपर्नेको जोड दिए ।
भिजन ९५ भनेर सबै दल, नेता र कार्यकर्ता मिलेर देश निर्माण गर्नुपर्ने बेला आएको महामन्त्री शर्माले धारणा राखे । शर्माले आलोपालो प्रधानमन्त्री बन्ने कुराको सहमति भएको भएपनि सरकारको बिकल्पमा भने नसोचेको बताए ।
आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेसबाट शेखर कोइरालादेखि धेरै नयाँ अनुहार आउन सक्नेमा भने उनले संकेत गरे । कांग्रेस सभापति शेरबहादुर देउवाको बिकल्पबारे छलफल हुनुलाई अनौठो मान्न नहुने पनि उनले बताए ।
लामो इतिहास बोकेको, ५ पटक प्रधानमन्त्री भैसक्नु भएका सभापति देउवालाई अझै कति भारी बोकाउने भन्ने कार्यकर्ताको पनि धारणा रहेको शर्माले बताए । ‘उहाँले धेरै योगदान गर्नुभयो, धेरैपटक प्रधानमन्त्री हुनुभयो, दुइपटक सभापति हुनुभयो’ शर्माले भने, ‘अब बिश्राम लिएर सल्लाह दिएपनि राम्रो हुन्छ ।’
देउवाको बिकल्पमा प्रधानमन्त्री बन्न सक्ने प्रकाशमान सिंह, बिमलेन्द्र निधीसहित गतबर्ष संसदीय दलमा प्रतिक्ष्पर्धा गरेका अर्का महामन्त्री गगन थापा र सशांक कोइराला पनि प्रधानमन्त्रीका संभावित उमेदवार हुने शर्माले खुलासा गरे ।
पुस दोश्रो साता हुने केन्द्रीय समितिको बैठकमै मन्त्रीहरुलाई एकबर्षको कार्यसम्पादन ल्याउन भनेको उनले जानकारी दिए । महासमिति सम्ममा गम्भिर समीक्षा गरेर कांग्रेसबाट मन्त्री भएकाहरुको भविष्य निर्धारण हुने उनले स्पष्ट पारे ।