बागलुङ, ४ पुस– बागलुङ नगरपालिकाले पुराना पोल हटाउने अभियानलाई निरन्तरता दिएको छ । साथै पोलमा रहेका पुराना तारका गुजुल्टा हटाइएको छ ।
बजार कुरुप भएको, तारको कारण दुर्घटना हुने जोखिम लगायतका कारणले पुराना पोल र तार हटाउने काम गरिएको बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले बताए । यो अभियान निरन्तर जारी रहने उनको भनाइ छ ।
समितिले वडा नं. १ देखि ४ सम्मका विभिन्न टोलमा १ सय पोल हटाउने योजना बनाएको छ । तीमध्ये केही स्थानान्तरण हुनेछन । जथाभावी झुण्डिएका, लत्रेका तार सेवाप्रदायकलाई नै हटाउन पटक पटक पत्राचार भएकोमा वास्ता नगरेपछि काट्ने काम थालिएको उनले बताए ।
‘केही सेवा प्रदायकले समय मागेर हटाउने भनेका छन्, नभनेको स्थानमा सबै काटेर फाल्छौं’ घिमिरेले भने, ‘बरु हरेक पोलमा एकएक वटा प्वाइन्ट राखेर इन्टरनेट लैजान मिल्ने बनाइनेछ ।’ पहिलो चरणमा ट्राफिक चोकदेखि जीपपार्क, मरेपिपलदेखि लालीगुराँस चोक र क्यामपस गेट तथा हरिशंकर रोडमा काम भैरहेको छ । यो कामलाई सबै वडामा पु¥याउने समितिका सदस्य सचिव हरिनारायण उपाध्यायले जानकारी दिए ।
अभियानका क्रममा हरेक पोलमा डिएस बक्स राखिने छ । ती बक्सबाट घर घरमा इन्टरनेट तार लैजान सकिन्छ । जसका कारण लामो दुरीबाट ल्याउने समस्या पनि हट्नेछ । बीच बीचमा राखिएका टिफोन बक्स अर्थात तार चुँढिएमा गाँस्ने बाकस पनि हटाइने भएको हो । जसका कारण बजारको सौन्दर्य बढाउन सहयोग पुग्नेछ ।
उपाध्यायका अनुसार एउटै बक्समा ८ देखि ६४ वटासम्म इन्टरनेट तार जोड्न मिल्ने व्यवस्था छ । जसका कारण लामो दुरीबाट तार जोडेर ल्याउन नपर्ने भएको हो ।
बजार व्यवस्थापन समितिले गल्ली तथा चोक सुधारको काम पनि गरिरहेको छ । समितिकै अगुवाइमा सडकमा रंगरोगन र डिभाइडर लाइन पनि तानिएको छ । आम नागरिकलाई फुटपाथमा हिंड्ने बानी बसाल्न केही स्थानमा फुटपाथ निर्माण समेत शुरु भैसकेको छ ।
नगर व्यवस्थापनका लागि नगरपालिकाले चालु बर्ष एक करोड खर्च गर्दैछ । उक्त बजेटबाट सबैखाले सुधारका काम हुनेछन् । पछिल्लो समय टेलिकमदेखि हल्लनचोक लगायतका टोलमा सडक कालोपत्रे भएको छ भने केही स्थानमा खाल्डा पुर्ने काम भैरहेको छ ।
सडक छेउका बिग्रेका नाली निर्माण र चोकमा सहज यात्रा गर्न सक्ने बनाउन लागिएको घिमिरेले जानकारी दिए । सडक दुर्घटना न्युनिकरणमा पनि यो अभियान सहयोगी हुने उनको दाबी छ ।