बागलुङ, ४ पुस– गणेश बहादुर थापा बचाउ अभियानको खर्च सार्वजनिक गरिएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर समिति र थापा स्वयम्ले आयव्यय सार्वजनिक गरेका हुन् ।
स्पाइनल कर्डमा क्यान्सर भएपछि एमालेका उपसचिव तथा पूर्व वडा अध्यक्ष गणेश थापा उपचारका लागि भारत गएका थिए । गत भदौमा भारतमा जानुअघि पत्रकार सम्मेलन गरेर थापाले सहयोगको याचना गरेका थिए । उक्त याचनापछि बैंक खातामार्फत ७९ लाख ३४ हजार ९७ रुपैयाँ प्राप्त भएको थियो ।
नेपालमा २ लाख २४ हजार ७ सय र भारतमा ५७ हजार ६ सय नगद गरी ८२ लाख १६ हजार ३ सय ५७ रुपैयाँ संकलन भएकोमा उपचारमा ७२ लाख ५४ हजार १ सय खर्च भएको थियो । बाँकी रहेको ९ लाख ६२ हजार ९ सय ९७ रुपैयाँ थापाले सामाजिक काममा लगाउने बताएका छन् ।
उनले बिशेषगरी धौलागिरि अस्पतालमा क्यान्सर रोग युनिट स्थापना वा क्यान्सरसंग सम्बन्धीत सेवाका लागि खर्चने बताए । ‘समयमा रकम र उपचार भएमा क्यान्सरलाई जित्न सकिने रहेछ भन्ने मेरो उपचारले देखाएको छ’ उनले भने, ‘त्यसैले अब पनि यो क्षेत्रमा सहयोग गर्न यो रकम सदुपयोग गर्ने बिचार छ ।’ उनले यो अभियानमा साथ दिने सहयोग समिति र सबै सरोकारवालालाई धन्यवाद समेत दिएका थिए ।
सहयोग समितिका संयोजक चन्द्रबहादुर थापा मगरको अध्यक्षता, सदस्य रामकृष्ण शर्माको संचालनमा सम्पन्न पत्रकार सम्मेलनमा संयोजक थापाले मंगलबारबाटै समिति भंग भएको पनि जानकारी दिएका थिए । थापा उपचारका लागि भारतको चेन्नाइस्थित एपोलो अस्पताल गएका थिए । त्यसबाहेक उनले राजिब गान्धी अस्पतालमा पनि केही समय उपचार गराएका थिए ।