बागलुङ, ६ पुस– गलकोट नगरपालिकाले जेष्ठ नागरिकको घरमा स्वास्थ्यकर्मी अभियान थालेको छ । नगरपालिकाले डाक्टर र स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य परीक्षण र औषधि बितरण गरेको हो । टोल टोलमा यो अभियान चलाइने नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
बिहिबारदेखि शुरु भएको अभियानअन्र्तगत पहिलो दिन वडा नं. ८ को थालेपोखरामा पुगेर नगर अस्पतालका डा. राजेश पौडेल, नगर स्वास्थ्य शाखाका प्रमुख सुशिल पौडेल सहितका स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका हुन् । बुढ्यौलीका समस्याबारे पनि घरमा पुगेका स्वास्थ्यकर्मीले सल्लाह दिने गरेका छन् । पालिकादेखि सबैभन्दा टाढाको पाण्डवखानीमा तीन दिनअघि स्वास्थ्य शिविर सम्पन्न गरिसकेको नगरपालिकाले थालेपोखराबाट घरदैलो अभियान थालेको हो ।
घरैमा रोग पालेर बसेका बुढापाकालाई उपचार गराएर स्वस्थ्य बनाउने नगरपालिकाको योजना अनुसार स्वास्थ्यकर्मी घरघर पठाइएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । उपचारमा खटिने टोलीले महिला जेष्ठ नागरिक भएमा पाठेघरको समस्या समेत बुझ्ने गरेका छन् । कतिपय महिलाहरु पाठेघरको समस्याले पिल्सीएर बसेको भेटाएको नगर स्वास्थ्य शाखाका प्रमुख सुशिल पौडेलले बताए । चिसोको समस्या भएकालाई पनि आवस्यक औषधि दिइएको थियो ।