बागलुङ, ८ पुस– उच्च अदालत बागलुङ बार एसोसिएसन बागलुङले नेपाल बार एसोसिएसनको ६८ औं स्थापना दिवश मनाएको छ । दिवशको अवसरमा शुभकामना आदानप्रदान तथा कानून व्यवसायीको आचारसंहिता बिषयक अभिमूखीकरण कार्यक्रम समेत सम्पन्न भएको छ ।
शनिबार भएको अभिमूखीकरणमा सहभागिले नागरिकको दृष्टीमा कानून व्यवसायीहरु उच्च नैतिक मूल्य मान्यता भएको बन्नुपर्ने बताए । बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले कानून व्यवासायीले गर्ने तर्क र उनीहरुले दिने तथ्यप्रमाणबाट प्रधानन्यायाधिस, प्रधानमन्त्री र राज्यका उच्च ओहदा आसिनहरु झुक्नुपर्ने बताए ।
‘पछिल्लो समय हामी कानून व्यवसायी हलुका टिप्पणीकर्ता भएका छौं’ उनले भने, ‘हामीले हाम्रो अध्ययनशिलता बढाएर राज्यको प्रखर वक्ता बन्नसक्नुपर्छ ।’ राजनीतिक दलको झोले, दुइचार पैसाका लागि बिक्ने र हलुका बनेर कानून व्यवसायी प्रतिको विश्वास गुम्ने अवस्था आउन दिनै नहुने बताए ।
कार्यक्रममा पूर्व अध्यक्षहरु भूमिश्वर गौतम, राजु प्रसाद गौतम, केशव पराजुली, निर्वतमान अध्यक्ष अखिलनाथ शर्मा लगायतले कानून व्यवसायीको मर्यादाले समाजले हेर्ने दृष्टीकोण सकारात्मक बन्नुपर्ने बताए ।
कानून व्यवसायीका लागि कानून व्यवसायी परिषदले ल्याएको आचारसंहितासहित बागलुङ बारका अध्यक्ष रमेशबहादुर खड्काले प्रस्तुत गरेका २१ बुधामा अन्तरक्रिया पनि भएको थियो । बागलुङ बारका अध्यक्ष रमेश बहादुर खड्काको अध्यक्षता, सचिव उमाशंकर शर्माको संचालन र उपाध्यक्ष हरिकृष्ण सुवेदीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।