बागलुङ, २२ पुस– शुभलाभ बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको १६ औँ साधारण सभा सम्पन्न भएको छ ।
२०६४ सालमा स्थापना भएको सहकारीमा ७५ जना शेयर सदस्य रहेका छन् । हाल सहकारीले १ करोड ३४ लाख ४९ हजार ६ सय शेयर पूँजीमार्फत आर्थिक वर्ष २०७९÷०८० मा ३१ करोड २५ लाख ८५ हजार ७ सय ४५ बचत संकलन गरेको छ । सहकारीले आर्थिक बर्ष २०७८÷७९ असार मसान्तसम्म ९ करोड ५ लाख ५४ हजार ९ सय रूपैयाँ कर्जा लगानी गरेको छ ।
साधारण सभामा उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्य चेतराम गौतम, असल कारोवार गर्ने लक्ष्मीदेवी राजभण्डारी, उत्कृष्ट कर्मचारी लक्ष्मी बज्राचार्य, जेष्ठ शेयर सदस्य चयनदेवी श्रेष्ठलाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा स्वागत मन्तब्य सहकारीका उपाध्यक्ष दुर्वल काजी राजभण्डारी र सहकारीका सचिव हिमालय प्रकाश श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पत्रकार राजेशचन्द्र राजभण्डारी, सहकारीका सल्लाहकार सुरेन्द्रजंग राजभण्डारी, सहकारीका पूर्व अध्यक्ष ईश्वरलाल बज्राचार्य, जेष्ठ शेयर सदस्य चयनदेवी श्रेष्ठ शेयर सदस्य युक्तजंग राजभण्डारी लगायतले मन्तव्य राखेका थिए ।
सहकारीले आर्थिक वर्ष २०७९÷०८० मा गरेको प्रगति प्रतिवेदन सहकारीका सचिव हिमालय प्रकाश श्रेष्ठ, आर्थिक प्रतिवेदन उपाध्यक्ष दुर्वल काजी राजभण्डारी र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक दीपक ज्योती श्रेष्ठले प्रस्तुत गरेका थिए ।
यसैबीच, साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आर्थिक विकासमा सहकारीको भूमिका अग्रणी भएको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार केवी राना मगरले सहकारीप्रति विश्वास बढाउने काम गरिरहनुपर्ने बताए । कोही भागे, जनताको पैसा खाए भनेर हतोत्साही नभइ आफ्नो लयमा काम गर्न सल्लाहकारी राना मगरले सुझाव दिए ।
सहकारी संस्थाका अध्यक्ष तेजप्रसाद शर्माको अध्यक्षता, सचिव डिल्लीप्रसाद गौतमको संचालन र उपाध्यक्ष चुडामणी आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा सचिव गौतमको आर्थिक प्रतिवेदन र कोषाध्यक्ष गणेशराज लम्सालको आर्थिक प्रतिवेदन पारित भएको छ ।
कार्यक्रममा पूर्व अध्यक्ष राजेन्द्र आचार्य, राजु केसी, हरि गौतम, सामाजिक अगुवा तथा सल्लाहकार पोटकुमारी जिसी, जैमिनी नगरपालिका–१ का अध्यक्ष बिष्णु आचार्यले मन्तव्य राखेका थिए । कार्यक्रममा उत्कृष्ठ बचतकर्ता, असल ऋणी लगायतका विभिन्न बिधा तथा उत्कृष्ठ कर्मचारीलाई पनि सम्मान गरिएको थियो । लामो समय साझेदारीको नेतृत्वमा बसेर हाल बिदेश गएर फर्केका राजु केसीलाई पनि साधारणसभामा सम्मान गरियो ।
संस्थाले आर्थिक बर्ष २०७९÷०८० मा ५९ लाख ८८ हजार आय गरेको देखिएको छ । आर्थिक संकटको समय भएपनि सहकारीले आयकर तिरेपछि पनि ६० लाख मुनाफा कमाएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सहकारीले सुपथ मूल्य पसल समेत संचालन गर्दै आएको छ ।