बागलुङ, २७ पुस– आगामी पुस २८ गते हुने बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको सरगर्मी बढेको छ । आम निर्वाचनको झल्को दिने खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा होमिएका छन् ।
नेपाली कांग्रेस निकट अध्यक्षका प्रत्याशी जयराम भारी र नेकपा एमाले निकट अध्यक्षका प्रत्याशी केवी राना मगरले आ–आफ्नो प्यानल बनाएर चुनावमा होमिएका छन् । अध्यक्ष पदमा स्वतन्त्र उमेद्वार बनेका भुपेन्द्र खड्का एकल उमेदवारीसहित मैदानमा छन् । मतदानको दिन नजिकिँदै गर्दा दुवै प्यानलले पत्रकार सम्मेलन गर्दै सुशासन, शुद्धपानी र समयमा साधारणसभा तथा नेतृत्व हस्तान्तरणबारे प्रतिबद्धता जाहेर गरेका छन् ।

दुवै प्यानलको प्रतिवद्वता : पर्याप्त खानेपानीको आपुर्ति
बिहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा साझा प्यानलका उमेद्वार केवी राना मगर आफ्नो सामाजिक क्षेत्रका गुणहरुसहित चर्को आवाजमा सुनिए । संस्थाको संस्थापक अध्यक्षसमेत रहेका रानाले संस्थाको सुधारका लागि प्रतिबद्धताका फेहरिस्त सुनाए ।
दक्ष प्राबिधिकको नियुक्ती, पर्याप्त खानेपानीको आपुर्ती, लेखा समितिको गठन, चुस्त आय–व्यय र सार्वजनिकिकरण, कार्यशैलीमा सुधार, संस्थाको बिधान संसोधन, सबै उपभोक्तालाई मताधिकार, प्लम्बरको नियुक्ती र समयमै सेवा तथा पारदर्शी कर्मचारी प्रशासनको व्यवस्थापन लगायतका प्रतिबद्धता रानाले व्यक्त गरे । रानाको प्यानलले ‘स्वच्छ तथा सफा खानेपानी, उपभोक्ताको गुणस्तरीय जिन्दगानी’ नारासहित चुनावी मैदानमा होमिएको छ । ‘मेरो सामाजिक जीवन हेर्नुहोस्, टिममा साथीहरु सबै म जस्तै हुनुहुन्छ’ रानाले भने ‘हामीले जवाफदेही हिसाबले काम गछौं, चार बर्षमा संस्थालाई मजबुद बनाउँछौं ।’ रानाको प्यानलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलनमै समर्थन दिने घोषणा गर्यो । उनको प्यानलमा अन्य पार्टीका पनि उमेद्वार छन् ।
यस्तै, गठबन्धनका साझा उमेद्वार जयराम भारीले १६ बँदे प्रतिबद्धता सार्वजनिक गरे । भारीले पहिलो प्राथमिकतामा सहलगानी कार्यक्रमअन्र्तगत सञ्चालनमा रहेको लिफ्टिङ खानेपानी आयोजना पुरा गर्ने बिषय राखेका छन् ।
दक्ष प्राबिधिकको नियुक्ती र बिधान संसोधनको बिषय पनि भारीले छुटाएका छैनन् । पानी प्रशोधन इकाई निर्माण, पुराना मुहानबाट आएको पाईपलाईन परिवर्तन, मर्मत, आम्दानी खर्च सफ्टवेयर सिस्टममा राख्ने, संस्थाको आफ्नै भवन निर्माण, महशुल भुक्तानी सर्वसुलभ बनाउने लगायतका प्रतिबद्धता भारीले सार्वजनिक गरेको प्रतिबद्धमा समावेश छन् ।
आम उपभोक्तालाई वितरण गरिने पानीमा शुद्धताका लागि पानी परीक्षण प्रयोगशाला (किटबक्स) सञ्चालन गरिने भारीले बताए । विद्युत महशुल निशुल्क गर्ने, स्रोत साधानको प्रयोग र संरक्षण लगायतका प्रतिबद्धता समावेश गरिएको छ ।
अध्यक्षमा उमेद्वारी दिएका कांग्रेस निकट सुवास आचार्यले पत्रकार सम्मेलनमार्फत आफ्नो समर्थन भारीलाई भएको घोषणा गरेका थिए । भारीको प्यानलमा राष्ट्रिय जनमोर्चा र नेकपा माओबादी केन्द्र निकटका उपभोक्ताको उमेद्वारी छ ।