बागलुङ, २३ माघ– नेपाली कांग्रेसले जिल्लाका दशवटै पालिकामा ‘समुदायमा कांग्रेस’ अभियान संचालन गर्ने भएको छ । त्यसका लागि केन्द्रीय प्रतिनिधि प्रकाश रसाइली स्नेही आइतबारदेखिनै जिल्लाका बिभिन्न कार्यक्रममा खटिएका छन् ।
सोमबार रसाइलीइले बागलुङ बजार, काठेखोला, गलकोट र तमानखोलामा समेत स्थानीयलाई भेटेका छन् । भेटको क्रममा अधिकांसले अलपत्र सडक आयोजनाबारे चासो राखेका थिए । राष्ट्रिय राजमार्गहरु अलपत्र छाड्ने ठेकेदारलाई कारवाही गर्नुपर्ने माग स्थानीयले गरेका छन् । ‘काम अलपत्र पार्नेलाई तत्काल कारवाही गर्नुपर्छ’ काठेखोला गाउँपालिका–५ का शिवप्रसाद कंडेलले भने, ‘पहिला कारवाही त्यसपछि नयाँ कामको थालनी नगरे नागरिक आन्दोलनमा उत्रनेछन् ।’
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल नेतृत्वमा पालिकाका जनप्रतिनिधि, अभियानमा आएका कांग्रेस नेता तथा जिल्लाका अन्य जनप्रतिनिधिको छलफलमा ठेकेदारलाई १५ दिनभित्र जिम्मेवार बनाएर काम थाल्ने शर्तमा बन्द फिर्ता गरिएको छ । काम नभए फागनु २ गतेदेखि सडक बन्द गर्ने स्थाीयले चेतावनी दिएका छन् ।
मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड अलपत्र पर्दा काठेखोलाबासी बढी मारमा छन् । बर्षौदेखि धुलो र हिलोले सताएको स्थानीयले गुनासो गरे ।
कालीगण्डकी करिडोरको मालढुंगा बेलबगर खण्डमा धमाधम काम हुँदाहुँदै ठेकेदारले भुक्तानी नपाएको भन्दै काम छाडेको छ । कालीका कन्स्ट्रक्सनले झण्डै ४० करोड भुक्तानी नपाएपछि काम छाडेर हिंडेको स्थानीयले बताए । ‘काम राम्रो भएको थियो, ठेकेदारले भुक्तानी नपाएको भनेर हिंडे’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, ‘राजनीतिक स्वार्थले कतै ठेकेदार बेइमान भएका छन्, कतै सरकारले भुक्तानी नदिएर ठेकेदार बिच्काएको छ ।’
सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्डमा भने बर्षौदेखि काम भएको छैन । आयोजनाले नै बागलुङ खण्डमा हात नहालेको स्थानीयको गुनासो छ । यस्ता सबै समस्याबारे स्थानीयले अभियानमा चासो राखेका हुन् ।
सहकारी ठगीका अगुवालाई कारवाही नभएको कुरा पीडितले उठाएका छन् । रसाइलीले पनि ठगी गर्नेलाई कारवाही गर्न प्रशासनलाई आग्रह गरे । रसाईलीले जिल्लाका दशवटै पालिकाका बस्ती पुगेर स्थानीयको आबाज सुन्न लागेको बताए । ‘जनताले कस्तो प्रतिक्रिया दिएका छन्, कांग्रेसबाट उनीहरुको अपेक्षा के हो भन्ने खोजेका छौं’ रसाईलीले भने, ‘जनजीविकाको सबालमा कांग्रेस सहभागि बन्नुपर्छ भन्ने उद्देश्यले गाउँ पसेका छौं ।’
रसाईलीले सबैभन्दा दुर्गम मानिने तमानखोलाको नर्जाखानी, निसीखोलाको झिवाखोला, बरेङ, ताराखोला र गलकोट, बरेङ र जैमिनीमा पनि पुग्ने बताए ।
कांग्रेसले फरक राजनीतिक दलका कार्यकर्ता, पेशागत क्षेत्रका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, संचारकर्मी, मजदुर, श्रमिक तथा आम नागरिकसँग भेट्ने र उनीहरुको समस्या एकीकृत गरेर पार्टीको केन्द्रीय समिति, महासमिति तथा संसदमा लैजाने गरी यो अभियान ल्याएको रसाईलीले बताए ।
यो अभियानका लागि कांग्रेस जिल्ला सभापति जित शेरचन, उपसभापति तारानाथ पौडेल, महासमिति सदस्य अर्जुन शेरचन, सिताराम रसाईली, महिला संघकी केन्द्रीय सदस्य पार्वती आचार्य लगायतको टोली जिल्ला भ्रमणमा निस्केको छ ।