बागलुङ, २६ माघ– गर्मी शुरु भैसकेको छैन । तर बजारमा गर्मी मौषममा बिक्री हुने पेय पदार्थहरु म्याद सकिएको भेटिएका छन् ।
बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उद्योग तथा पर्यटन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा म्याद गुज्रेका सामान छ्याप्छ्यपाप्ती भेटिएका हुन् । कतिपयको लेबल समेत नभएको, अखाद्य रंग प्रयोग भएको र गुणस्तरहिन सामान पनि बजारमा बेच्ने गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए ।
बजारमा आकस्मिक रुपमा गरिने छड्के अनुगमनमा ती सामान भेटिएपछि नष्ट गरिएको हो । साथै म्याद सकिनै लागेपछि थोक बिक्रेताहरुले बजारमा सामान पठाउने गरेको समेत भेटिएको हो । कोक, फेन्टा र स्प्राइट तथा जुस जस्ता पेय पदार्थको म्याद सकिएको प्रसस्त भेटिएको हो । अनुगमन टोलीले ती सामान नष्ट समेत गरेको छ । ‘म्याद सकिएपछि बिक्री गरेका पनि भेटियो’ बरालले भने, ‘ती सप्लायर्स र थोक बिक्रेतालाई पत्र काटेका छौं, उनीहरुको गोदाम र उद्योगमा पनि कारवाही गर्छौ ।’
दशै तिहारको मौका पारेर गरिएको अनुगमनमा पनि यस्तै समस्या देखिएको थियो । कतिपयलाई चेतावनी दिएको, कतिपयलाई जरिवाना गराएको लगायतको कारवाही भएको थियो । अहिले भने पुन त्यस्तै समस्या दोहोरिएको हो । चिज क्रेकर नामक बिस्कुटको सप्लायर्सले म्याद सकिएपछि बजारमा ल्याएको भेटिएको थियो । २०२० मा बनेको बिस्कुट २०२३ को जनवरीमा बजारमा ल्याएको समेत भेटिएको हो । त्यस्तै नर्मदा ट्रेडर्सले बेचेको सामाग्री पनि म्याद गुज्रेको भेटिएको हो । करेला बटारे मिठाई खुला बट्टामा ल्याएर बजारमा पठाइएको समेत भेटिएको हो । बुटवलबाट आएको भनिएको ती सामाग्रीमा लेबल समेत नभएको पाइएको हो ।
ती बाहेक स्थानीय रुपमा बेचिने दालमोठ खुला बनाएर बेचेको, होटलका खाद्यबस्तुको ल्याब परीक्षण नभएको, कतिपय पसल दर्ता नगरी संचालन भएको समेत पाइएको हो । चनाचटपटेमा प्रयोग हुने सस गुणस्तहिन भएको, अखाद्य रंग प्रयोग भएको समेत भेटिएपछि उनीहरुलाई सचेत गराएको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताए । दर्ता नभएका पसल तत्काल दर्ता गर्न निर्देशन दिएको र गुणस्तरहिन सामाग्री नष्ट गरिएको बताए ।
अनुगमनको क्रममा बागलुङ उद्योग बाणिज्य संघका प्रतिनिधि, उपभोक्ता मंच, प्रहरी लगायतका संस्थाले पनि साथ दिएका छन् ।