तस्बिर : रोशन जिसीको फेसबुकबाट
बागलुङ, २ फागुन– फागुनको ९ गतेदेखि २३ गतेसम्म हुने ब्रम्हाण्डीय महायज्ञको ८० प्रतिशत तयारी पुरा भएको छ । पत्रकार सम्मेलन गरेर महायज्ञका मुल अगुवा तथा संकल्पकर्ता कमलनयनाचार्यले उक्त जानकारी दिएका हुन् ।
महायज्ञका लागि पञ्चकोटमा धान्यान्चल गर्न २१ हजार ५ सय ५५ क्विन्टल धान समेत ल्याइसकिएको छ । त्यसबाहेक यज्ञ मण्डप, हवन कुण्ड, भोजन क्षेत्र, धान संकलन स्थल र धान संकलनका लागि ३१ फिट अग्लो मौलो राख्न लागिएको छ ।
पञ्चकोट पुग्ने पहुँच सडकहरु मर्मत गरिएका छन् । सीम तर्फको सडक धमाधम मर्मत गरिएको छ भने मालिका तर्फको सडक कालोपत्रे तयारी छ । दुवैतर्फ गेट निर्माण गरिएको छ । महायज्ञको उद्घाटन फागुन ९ गते १०८ कन्याले गर्नेछन् । ती कन्याहरु मुस्ताङदेखि त्रिवेणीधाम सम्मका हुनेछन् । सबै जातजाती, धर्म, सम्प्रदायका कन्याबाट महायज्ञ उद्घाटन गरिने कमलनयनाचार्यले जानकारी दिए ।
त्यसबाहेक राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल समेत फागुन १० गते आउनेछन् । यहाँ निर्मित ५ हजार ५ सय ५५ केजीको महाघण्टी सोही समयमा अनावरण गरिनेछ । त्यस बाहेक गण्डकी प्रदेशका धेरै जिल्लाबाट धार्मिक व्यक्ति, समूह र विभिन्न पदाधिकारीहरु आउने भएकोले तालिका पनि मिलाइएको छ ।
बिशेषगरी राष्ट्रमा शान्तिको कामना गर्ने, व्यक्तित्व पिकास र धार्मिक अनुष्ठान सहितको महायज्ञ भएकोले सबैले सहभागि हुने अबसर पाउने कमलनयनाचार्यले बताए । त्यसबाहेक यहाँ ५ करोड दिप प्रज्वलन हुनेछन् ।
‘महायज्ञको लागि अध्यक्षता मुक्तिनाथ भगवानले गर्नुहुन्छ, पशुपतिनाथ संरक्षककर्ता, आब्हानकर्ता बुद्ध भगवान र स्वागत कर्ता गण्डकी माता नै रहने व्यवस्था छ’ उनले भने, ‘यो व्यक्तिले आयोजना गरेको महायज्ञ होइन ।’ पञ्चकोटमा १ सय ८ फिट अग्लो कलस निर्माण हुँदैछ । त्यसको नाम गण्डकी कलस हुनेछ । हाल तयार भएको फाउण्डेसन माथी बनाइने भएकोले उक्त कलस १ सय ३५ फिट अग्लो देखिनेछ । महायज्ञलाई बागलुङ र छिमेकी जिल्लाका पालिकाहरुलेपनि साथ दिने बचतबद्दता जनाएको उनले जानकारी दिए ।