बागलुङ, ४ फागुन– जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा बिहिबारदेखि तीन दिने उद्घोषण, भाषणकला र मन्टेश्वरी चेतनामूलक तालिम सुरु भएको छ ।
काठेखोला गाउँपालिका–३ धम्जा वडा कार्यालयको सहयोग समन्वय र बागलुङ मिडिया हाउस प्रा.लि. बागलुङको सहजीकरणमा तालिम संचालन भएको हो ।
तालिमको उद्घाटन गर्दै काठेखोला गाउँपालिका–३ धम्जाका वडाध्यक्ष कुल बहादुर विकले वडाबासीको वाककला सुधारको लागि तालिमको आयोजना गरिएको बताए । उनले वडाका महिला स्वास्थ्य स्यमंसेविका, शिक्षक, संघसंस्था, सहकारी, सामुदायिक वन उपभोक्ता समितिका सदस्य र विद्यार्थीलाई वाककला, उद्घोषण र भाषणकलाको विकास गर्न तालिमले सहयोग पुग्ने बताए ।
उद्घाटन कार्यक्रममा काठेखोला गाउँपालिका–३ धम्जाका वडा सदस्य प्रेम बहादुर घर्ती र नेकपा एमाले धम्जा वडा कमिटीका सचिव सुर्य भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बागलुङ मिडिया हाउस प्रा.लि. बागलुङका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रको स्वागत मन्तव्य वडा सचिव मनहरी कंडेल र संचालन पत्रकार तथा तालिमका मुख्य प्रशिक्षक तारानाथ आचार्यले गरेका थिए ।
तालिममा धम्जाका महिला स्वास्थ्य स्यमंसेविका, शिक्षक, संघसंस्था, सहकारी, सामुदायिक वन उपभोक्ता समितिकाका सदस्य र विद्यार्थी गरी एक सय जनाको सहभागिता रहेको छ । तीन दिनसम्म संचालन हुने तालिममा नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव तारानाथ आचार्य र सदस्य अर्जुन कार्कीले सहजीकरण गर्नेछन् ।