बागलुङ, १८ फागुन– कृषिमा यान्त्रिकरण अभियान चलाएको बागलुङ नगरपालिकाले किसानलाई धान, गहुँ लगायतका फसल सहजै छुट्याउन सक्ने थ्रेसर मेसिन दिएको छ ।
नगरपालिकाले चालु वर्षको कृषिमा यन्त्रिकरण कार्यक्रममार्फत ल्याएको १० वटा थ्रेसर मेसिन किसानलाई वितरण गरेको हो । ती मेसिनमा नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको हो भने ५० प्रतिशत किसान र समूहले लागनी गरेका छन् ।
३ लाख रुपैयाँमा खरिद गरिएका १० वटा मेसिन चार समूह र ६ जना अगुवा किसानलाई बितरण गरिएको हो । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले सानो क्षेत्रमा उत्पादन बढाउन प्रविधिको प्रयोग बढाउने गरी कार्यक्रम समेत बनाएको बताए ।
‘धेरै उत्पादन गर्ने, छोटो समयमा उत्पादित फसल भित्राउने र किसानलाई प्रविधिमैत्री बनाउने नगरपालिकाको लक्ष्य छ,’ श्रेष्ठले भने, ‘बाँझो जमिन उपयोग गर्ने किसानलाई सम्मान गर्ने र युवा पलायन रोक्ने उपायको खोजीमा छौं ।’
सामाग्री पाएका किसानले सदुपयोग गरेमा आगामी वर्षपनि थप मेसिन र औजार बितरण गर्ने कृषि शाखाका प्रमुख सुवास सापकोटाले बताए । ‘मेसिनले कृषिबाली भित्राउन सहज हुनेछ’ उनले भने, ‘आवस्यकताको आधारमा प्रविधिको खोजी भइरहेको छ ।’
थ्रेसर मेसिन पाएपछि दंग परेका किसानले काम गर्दा जाँगर पलाउने बताएका छन् । रुम्टा कृषि समूहका अध्यक्ष सुरेश बिकले भने, ‘उत्पादन लागत घट्ने आधुनिक उपकरण, बीउ तथा मल पनि किसानलाई आवश्यक छ ।’ नगरपालिकाले पशु फर्मका लागि घाँस टुक्रा पार्ने मेसिनका लागि पनि अनुदान दिँदै आएको छ ।