बागलुङ, २९ फागुन– बाङेचौर खेल मैदानमा जारी ‘दोस्रो अर्ना जेसिज कप’ फुटबलको दोस्रो दिन सम्पन्न खेलमा रुद्रेपिपल युथ क्लबले मुलपानी फुटबल क्लबको पोष्टमा गोलको वर्षा गर्दा आदर्श स्पोर्टस् क्लबले संकल्प पर्नुस्थापना केन्द्रमाथि संघर्षपूर्ण जित निकालेको छ ।
सोमबार भएको पहिलो खेलमा रद्रेपिपलले मुलपानीको पोष्टमा ७ गोल ग¥यो । एकतर्फी खेलमा रुद्रेपिपलका अमृत कुँवरले ह्याट्रिक गरे । खेलको ४२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका अमृत कुँवरले ६० र ८१ औं मिनेटमा दुई गोल थपे ।
फितलो प्रदर्शन गरेका मुलपानीका खेलाडिमाथि हाबी बनेको रुद्रेपिपलका लागि अर्जुन रानामगर, सन्तोष थापाले एक÷एक गोल गरेभने अनिश थापाले दुई गोलको योगदान गरे । रुद्रेपिपलले अब आगामी बुधबार हुने खेलमा बुद्वचित्तको सामना गर्ने छ ।
यस्तै, सोमबारको दोस्रो खेलमा आदर्श स्पोर्टस् क्लबले संकल्प पुर्नस्थापना केन्द्रमाथि संघर्षपूर्ण जित निकालेको छ । दुई विदेश खेलाडि मैदानमा उतारेको आदर्शलाई संकल्पलाई पराजित गर्न खेलको इन्जुरी समय कुर्नुप¥यो । निकै प्रतिष्पर्धात्मक खेलमा आदर्शको जितका लागि नाइजेरियन खेलाडि फिलिप्स भिक्टर नायक बने । फिलिप्सले खेलको ७२ औं मिनेटमा गरेको गोल नै आदर्शको जितका लागि निर्णायक बन्यो । आदर्शले बुधबार धौलागिरि बहुमुखी क्याम्पस बागलुङसंग प्रतिष्पर्धा गर्ने छ ।
मंगलबार बागलुङ सुधार केन्द्रले गुठी युनाइटेड र श्रीमयर गणले म्याग्दी जिल्ला फुटबलसंग प्रतिष्पर्धा गर्ने आयोजक बागलुङ जेसिजले जनाएको छ ।