बागलुङ, ३० फागुन– एचआईभी पीडितमाथि हुने भेदभाव, अवहेलना र हिंसा न्युनिकरणका लागि स्वास्थ्य कार्यालय बागलुङले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई अभिमुखीकरण थालेको छ ।
मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले उद्घाटन गरे । उनले प्रहरीका लागि अत्यावश्यक अभिमुखीकरण सञ्चालन गरेकोमा कार्यालयलाई धन्यवाद दिए । संविधानले सुरक्षित गरेको स्वास्थ्य र गोपनियताको अधिकार सुनिश्चित गर्न कार्यक्रम थप प्रभावकारी रहेको रिजालले बताए ।
प्रहरी उपरीक्षक ऋषिराम कँडेलले प्रहरीलाई व्यक्तिगत र सांगठनिक रुपमा मजबुद बन्न तालिमले सहयोग गर्ने बताए । अभिमुखिकरणमा डा. बेदना पोखरेल, प्रहरी उपरीक्षक ऋषिराम कँडेल, जनस्वास्थ्य प्रशासक बाबुराम आचार्य, जनस्वास्थ्य अधिकृत कमल रानाभाट, क्षयकुष्ट निरीक्षक देवप्रकाश घिमिरे, हेमराज पौडेलले सहजीकरण गर्नेछन् ।
उद्घाटन कार्यक्रम कार्यालय प्रमुख बाबुराम आचार्यको अध्यक्षता, देवप्रकाश घिमिरेको स्वागत र घनश्याम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । दुई दिनसम्म चल्ने अभिमुखिकरणमा सशस्त्र प्रहरी बलको आश्रीत गुल्म र जिल्ला प्रहरी कार्यालयबाट ४० जना प्रहरी जवान तथा अधिकृतहरुको सहभागिता रहेको छ ।