बागलुङ, ४ चैत्र– नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिर बागलुङमा गत फागुनमा ३५ लाख रुपैयाँ भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले फागुनमा ३५ लाख ११ हजार पाँच सय ३५ रुपैयाँ भेटी संकलन भएको जानकारी दिए । नगद, सहयोग रसिद र बिक्री गर्न मिल्ने जिन्सी सामान र वस्तुबापत उक्त रकम संकलन भएको उनले बताए ।
फागुनमा कालिका मन्दिरबाट भेटीबापत नगद १९ लाख ८१ हजार एक सय रुपैयाँ, चामल बिक्रीबाट ५४ हजार नौ सय रुपैयाँ, बोकाबाट एक लाख ३० हजार छ सय रुपैयाँ, कुखुराबाट सात हजार दुई सय रुपैयाँ प्राप्त भएको छ ।
साथै, राँगाबाट दुई हजार रुपैयाँ, भाडा तीन लाख १४ हजार चार सय रुपैयाँ, विवाहबाट १० हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग तीन लाख ४२ हजार चार सय ८५ रुपैयाँ, परेवा बिक्रीबाट छ लाख ५५ हजार दुई सय ५० रुपैयाँ, व्रतबन्ध नौ सय रुपैयाँ, पण्डितबाट १२ हजार दुई सय रुपैयाँ संकलन भएको कोषाध्यक्ष रामबहादुर खड्काले बताए ।
यस्तै, फागुनमा २७ लाख ३६ हजार आठ सय ९० रुपैयाँ खर्च भएको छ । फागुनमा सात लाख ७४ हजार छ सय ४५ रुपैयाँ बचत भएको समितिले जनाएको छ । यस्तै तलब तीन लाख ९७ हजार आठ सय रुपैयाँ, विद्युत् महसुल ५२ हजार आठ सय रुपैयाँ, अतिथि सत्कारमा ६७ हजार रुपैयाँ खर्च भएको छ ।
यसैगरी, आर्थिक सहयोग १५ हजार रुपैयाँ, पूर्वाधार विकास तथा निर्माणमा २१ लाख छ हजार रुपैयाँ, पोसाक तथा छपाइमा २१ हजार रुपैयाँ, खाद्यान्न तथा आवासमा ५४ हजार रुपैयाँ, विज्ञापनमा तीन हजार रुपैयाँ र सांस्कृतिक कार्यक्रम तथा भजनमा १६ हजार नौ सय रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।