बागलुङ, ११ बैशाख-तीन बर्षअघि निर्माण भएको बागलुङ बसपार्क चलाउने तयारी भएको छ । बागलुङ नगरपालिका, बसपार्क व्यवस्थापन समिति र जग्गादाता सहितको सरोकारवाला बैठकले चालु आर्थिक बर्षभित्रै बसपार्क संचालनमा ल्याउन आवस्यक प्रशासनिक काम समेत थालेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
सोमबार बसेको सरोकारवाला बैठकले हालको निकास भएका सडकलाई प्रयोग गर्दै आगामी दिनमा अन्य सहज सडकको पहुँच खोज्ने बिकल्प समेत खुला गरिएको श्रेष्ठको भनाइ छ । जग्गादाताले बागलुङ बेनी सडक खण्डबाट बसपार्क जोड्न सुझाव दिएका छन् । उक्त सुझाव अनुसार सडक निकास दिन बसपार्कका सरोकारवाला बाहेक केही उपभोक्ताको सडक लिनुपर्ने बाध्यता छ । उक्त जग्गा लिंदा थप व्ययभार पर्ने, छोटो बाटो बनाउँदा लेबल नमिल्ने र त्यसका लागि ठूलो खर्च बढाउनु पर्ने भएकोले तत्कालै भने संभव नभएको नगरपालिकाको बुझाइ छ ।
नगरपालिकाको प्राविधिक टोलीसहित स्थानीयको सहभागितामा संभाव्यता अध्ययन गर्न १५ दिन समय दिने बैठकले निर्णय गरेको हो । उक्त निर्णय अनुसार छोटो सडक निकाल्न अधिकतम पहल हुनेछ । त्यस बाहेक बसपार्क संचालन गर्दै जग्गादातालाई घडेरी बनाएर फिर्ता गर्नुपर्ने शर्त समेत छ । उक्त शर्त पनि आर्थिक बर्षभित्रै सक्न नगरपालिकालाई दबाव छ ।
उपभोक्ता समिति र सरोकारवालाले पनि लामो समयदेखि अल्झेको काम सक्न नगरपालिकालाई दबाव दिएका छन् । यो दबाव अनुसार काम भएमा आगामी आर्थिक बर्षका लागि जग्गावालाले आफ्नै घडेरी पाएर कर तिर्न पाउनेछन् । २०५८ सालमा स्थानीयले बसपार्क निर्माणका लागि दिएको जग्गामा तीन बर्ष अघि बसपार्क बनेको हो । जग्गा एकीकृत गरेर साँढे १७ रोपनीमा बसपार्क बनेको छ भने बाँकी एकसय बढी रोपनी जमिनबाट ६० बढी उपभोक्तालाई जग्गा फिर्ता गर्नुपर्ने शर्त छ । नगरपालिका र उपभोक्ताबीच २०५८ सालमा १२ बुँधे सहमति भएको थियो ।
२२ बर्ष अघि गरिएको सम्झौतामा उपल्लाचौरको कटरको बोट तर्फको सडक रेखांकन गरिएको वडा अध्यक्ष कुमार बिक्रम क्षेत्रीले बताए । उपभोक्ताले भने पछिल्लो समयको माग अनुसार मुख्य सडकबाट छोटो दुरीमा बसपार्क जोड्न दबाव दिएका छन् । यसरी सडक जोड्दा अन्य उपभोक्ताको जग्गा पनि लिनुपर्ने भएपछि बसपार्क महंगो पर्ने भएको हो ।
‘अहिले पनि बर्षको १ करोड बढी रकम नगरबिकास कोषमा तिरिरहेका छौं’ प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले भने, ‘छिटो काम सकेर बसपार्क संचालन गर्न सकेमा आन्तरिक कमाइ पनि बढ्नेछ ।’ बसपार्कमा रहेका दर्जनबढी सटर भाडामा लगाउँदा किस्ता तिर्ने रकम समेत उपलब्ध हुने उनले बताए ।
हाल यो बसपार्कको नजिकैबाट बागलुङ बेनी सडक गुडेको छ । बसपार्कमा जाने सडक साँघुरो भएपछि लामो दुरीका बस जान सकेका छैनन् । ‘बसपार्क बन्यो, हामी जान तयार छौं, तर सडक साँघुरो भयो’ धौलागिरि गण्डकी यातायात कम्पनीका अध्यक्ष उमेश केसीले भने, ‘बसले घरका छेउछाउ छुने गरी संरचना छन् ।’ मापदण्डमा परेका छाप्रा तथा संरचना हटाएर नगरपालिकाले सडक फराकिलो बनाएमा बस लैजान सक्ने उनले बताए ।
हाल बानपा ३ को चिप्लेटी बसपार्कबाट लामो तथा छोटो दुरीका सवारी छ्ुट्ने गरेका छन् । बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सवास राजभण्डारीले पनि छिटो समस्या समाधान गरेर नगरपालिकाले अपनत्व लिनुपर्ने बताए । वडा नंं ४ का गुणनीधि शर्माले पनि जग्गा किनबेच गर्न नपाएको गुनासो गरे । अर्का जग्गादाता सुवास केसीले तत्काल काम सक्न नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, वडा अध्यक्ष कुमार बिक्रम क्षेत्री, पूर्व अध्यक्ष ध्रु्रब केसी, स्थानीय हरिबहादुर जिसी लगायतले पनि बसपार्क छिटो संचालन गर्न सुझाव दिएका छन् । बैठकमा प्रहरी, ट्राफिक, यातायात व्यवस्था कार्यालय लगायतका सरोकारवाला समेत सहभागि थिए ।
नगर बिकास कोषको ११ करोड ऋण लिएर बसपार्क बनेको हो । कुल ५९ रोपनी जग्गा मध्ये १७ रोपनीमा मात्रै बसपार्क बनेको छ । सडक कट्टा गरेर बाँकी जग्गामा १ सय २७ घडेरी बनाउनुपर्ने नगरपालिकाको दायित्व छ । तर अहिलेसम्म घडेरी बनेका छैनन् । एकैपटक ८० वटासम्म बस राख्न मिल्ने गरी बसपार्क बनाइएको छ ।