९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

फोहोर व्यवस्थापन गरेको हेर्न टिकट काट्नुपर्ने दिन कहिल्यै आएन


जनमञ्च संवाददाता
  • ११ भाद्र २०८१ , मंगलबार

  • फोहोर व्यवस्थापन गरेको हेर्न टिकट काट्नुपर्ने दिन कहिल्यै आएन

    पोखरा, ११ भदौ-पोखराको ल्यान्डिफिलको फोहोर र फोहोर बोक्ने गाडीको गतिका कारण गुरुकुलका विद्यार्थी विद्यालय जान छाडेका छन् । पोखरा महानगरपालिकाले वडा नम्बर ३२ लामेआहालमा व्यवस्थापन गर्दै आएको फोहोरको दुर्गन्ध र सवारी तीव्र गतिमा हुँइकिन लागेपछि राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका विद्यार्थी आवसमै पढ्न थालेका हुन् । कक्षा १० मा पढ्दै गरेका अनिश दाहालले विद्यालयमा फोहोरको गन्ध धेरै आएपछि आवासमै बसेर पढ्न बाध्य भएको बताए । उनका अनुसार आवासदेखी केही मिनेटको दुरीमा विद्यालय छ । सुन्दर, स्वच्छ र सफा ठाउँमा रहेको विद्यालय पछिल्लो समय महानगरपालिकाको ल्याण्डफिल साइट बन्दा स्थानीयहरुलाई समस्या परिरहेको छ । उनीहरु विद्यालय छाडेर आवासमै पढ्दा समेत प्रदुषणले छाडेको छेन् ।

    ‘तल पढ्थेम् (विद्यालय) फोहोरको गन्ध धेरै आएपछि यहाँ (आवास) पढ्न थालेका छौं तर, यहाँ पनि गन्ध उस्तै आइरहेको छ,’ उनले भने, ‘पढ्नमात्रै होइन खाना खान समेत सकिदैन । गन्धका कारण न त हामीलाई पढ्ने वातावरण छ न त खाना खाने नै ।’ सुत्न समेत निकै गाह्रो भएको र साथीहरु बेलाबेला विरामी समेत पर्नेगरेको उनको भनाइ छ । अहिले आवास भवनको पिँढी र चौरमै बसेर पढ्नुपर्ने स्थिति छ तर गन्धका कारण त्यहाँ समेत पढ्ने स्थिति बनेको छैन् ।

    विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले आवास क्षेत्र मन्दीर परिसरमा रहेको र विद्यालय केही दुरीमा रहे पनि फोहोरको गन्धले मन्दीर परिसरमै अध्यापन गराउँदै आइरहेको जानकारी दिए । ‘पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापन गरेको ठाउँदेखी विद्यालय एकदम नजिकको दुरीमा छ । त्यहाँ हामीले अध्ययन अध्यापन गराउँदै आएका थियौं भने यहाँ खाना बस्ने कार्य । त्यहाँको फोहोरको कारण अहिले विद्यार्थी लैजान समस्या भइरहेको छ,’ उनले भने, ‘फोहोरमात्र होइन अहिले हाम्रो लागि अर्को चुनौति भनेको फोहोर बोक्ने गाडीको तिव्र गतिसमेत हो ।’

    फोहोर बोक्ने गाडी निकै गतिमा आउने गर्दा विद्यार्थी दुर्घटनामा पर्ने जोखिम समेत बढिढरहेको छ । चालकले लापरवाहि तरिकाले गाडी चलाउदा विद्यार्थी विद्यालय जानै डराउछन् । ‘दुर्गन्ध मुख्य समस्या हो । त्योबाहेक लान ल्याउन पनि निकै समस्या भइरहेको छ । फोहोर बोक्ने गाडी अत्यन्तै द्रुत गतिमा आउने जाने गर्छन् । यहाँ साना–साना विद्यार्थी छन्, निकै समस्या छ,’ उनले भने । समस्याको बारेमा महानगर र वडालाई बारम्बार भनेपनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । विद्यालयले फोहोर बोक्ने गाडीको गति देखेर विहान पौने १० बजेदेखि १० बजे र बेलुका ४ बजेदेखी सवा ४ बजेसम्म गाडी नकुँदाउन महानगर, वडा र सवारी चालकलाई समेत अनुरोध गरे पनि वेवास्ता गरिरहेका छन् ।

    पोखरा महानगरपालिकाले पुन ः महिनासम्मका लागि त्यहाँ फोहोर फाल्ने भनि सहमति भएको छ । महानगरले उक्त स्थानमा फोहोर फाल्नका लागि केही सहमति गरेपनि त्यो पूर्ण कार्यान्वयन नहुँदा समस्या बढेको हो । उक्त स्थानमा वृद्धाश्रमसमेत छ सो आश्रममा पनि दुर्गन्धको असर परिरहेको छ ।

    राधाकृष्ण शान्ति आश्रमका मुल प्रबन्ध समिति सदस्य माधवशरण उपाध्यायले विद्यालय नजिक डम्पिङ साइड हुनु र फोहोर संकलन गर्ने सवारी विद्यालयको समयमा समेत तिव्रगतिमा चलाउँदा मन्दिरमा सर्न बाध्य भएको बताए । महानगरले जुन योजनाअनुरुप त्यहाँ फोहोर व्यवस्थापनव गर्ने भनेको हो त्यो अनुसार नगर्दा समस्या बढिरहेको उनको भनाइ छ ।

    ‘विद्यार्थी दिनभर विद्यालयमा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्ने स्थिति आएको छ । दोस्रो कुरा गाडीका कारण ज्यान जाने जोखिम समेत देखियो । आश्रममा रहेका वृद्धवृद्धालाई समेत असर गरेको छ’ उनले भने । उनका अनुसार विहान विद्यालय जाने आधा घण्टा र बेलुका फर्कँदाका आधा घण्टा गाडी नचलाइदिन भनि महानगरदेखि सवारी चालकसम्म अनुरोध गर्दासमेत वेवास्ता गरिएको छ । विद्यार्थी अहिले पानी पर्दा एकै कोठामा पढ्छन भने अघिपछि बरन्डा, चौर र आँगनमा बसेर पढ्ने गरेका छन् । जसका कारण कक्षागत पठनपाठनमा निकै प्रभाव परिरहेको उपाध्याय बताउँछन् । वडामाफर्त महानगरसम्म समस्या राखे पनि सुनुवाइ नभएको उनी सुनाउँछन् ।

    उक्त स्थानमा ठुलो खाडल रहेको छ । आश्रमले सो खाडल पुर्नुपर्ने माग राख्दै आइरहँदा महानगरपालिकालाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपश्चात सञ्चालनमा आएसँगै ल्याण्डफिल साइडको चुनौती थियो । महानगर र स्थानीय बिचमा सो खाडलमा फोहोर व्यवस्थापन गर्ने र माटोले पुर्ने सहमति भएपछि पोखराको फोहोर व्यवस्थापन हुन थालेको थियो । त्यतिबेला महानगरले अन्तर्राष्ट्रिय मापदण्डअनुसार फोहोरको व्यवस्थापन गर्ने बताएको थियो । स्थानीयलाई मख्ख पार्दै महानगरले फोहोर त्यहाँ व्यवस्थापनि गरेपनि अन्तर्राष्ट्रिय मापदण्ड भने विर्र्सिको हो । उपाध्यायले महानगरको फोहोर व्यवस्थापनको समस्यालाई आफूहरुले बुझेको र उचित तरिकाले व्यवस्थापन गरिदिन अनुरोध गरे ।

    स्थानीय भुवनप्रसाद पौडेलका अनुसार महानगर र लामेआहालका स्थानीय बिच ०७९ सालमा अस्थाइ रुपमा फोहोर फाल्ने सहमति भएको थियो । डम्पिङ साइड नभइ ल्याण्डफिल साइड भएको र व्यवस्थित तरिकाले फोहोर व्यवस्थापन गर्ने भनेपछि खाल्डो पुर्नका लागि सहमति भएको सुनाए । सीमित सहमतिका बुदा भएपनि कार्यान्वयन नभएको उनी सुनाउँछन् । पहिलो बुदामा एकमिटर फोहोर राखेपछि एकमिटर माटोले ढाक्ने भन्ने उल्लेख भएपनि त्यसो नहुँदा ६ महिनामै स्थानीयले आन्दोलन थालेका थिए । आन्दोलन पश्चात पुनः १६ बुदे सहमति भएको थियो । सो बँुदाको पहिलो नम्बरमा समेत फोहोर मैला व्यवस्थित तरिकाले पुर्ने नै थियो सहमति अनुसार केही महिनासम्म पुर्ने काम भएतापनि अहिले भने कार्यान्वयन भएको छैन् । अहिले फोहोरमाथि थोरै माटो राखेर पुरे जस्तोमात्रै गरिरहेको छ । महानगरले फोहोरमा दैनिक किटनाशक औषधि छर्ने समेत बताएको थियो तर, त्यो पनि कार्यान्वयन हुन सकेन । गत वर्षको साउन २४ गते १४ बुँदे सहमति हुँदै १८ महिनाका लागि फोहोर फाल्ने निश्चित भएको थियो । कक्षा ६ देखी १० सम्म पढाहुने गुरुकुलमा ३० जना विद्यार्थी छन् ।
    ०७९ साल पुस ८ गते पोखरा महानगरपालिका कार्यपालिकाको बैठकले वडा ३२ स्थित रहेको लामेआहालमा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको थियो । पोखरा १४ स्थित रहेको बाच्छेबुडुवामा महानगरले फोहोर फाल्दै आएपनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउने भएपछि महानगरले अल्पकालीन फोहोर व्यवस्थापन लामेआहालमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । दीर्घकालीन फोहोर व्यवस्थापनका लागि पोखरा ३३ मा जग्गाको खोजी गर्ने महानगरको तत्कालिन योजना थियो । मेयरमा निर्वाचित भएपश्चात धनराज आचार्यले पोखरामा फोहोर व्यवस्थापन गरेको हेर्न टिकट काटेर आउनुपर्ने विभिन्न फोरममा बताउँदै आएका थिए । यद्यपि, महानगरको एक कर्मचारीका अनुसार हालसम्म महानगरले पोखरा ३३ मा जग्गाको विषय टुंग्याउन सकेको छैन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend