बागलुङ/राष्ट्रिय झण्डा र लिफ्ट लेखेको कागज बोकेको युवा गह्रांै झोला बोकेर निस्केको छ । मंगलबार दिउँसो बागलुङ नगरपालिका नजिकै भेटिएका ती युवाको सन्देश छ, ‘घकुलतविरुद्ध लागौं । स्वदेशमै काम गरौं, विदेश नजाऔं ।’
उनी थिए सुदूर पूर्वको पाँचथर जिल्ला स्थित कुम्याक गाउँपालिका ५ का ३१ वर्षका राजा थापा । पछिल्लो डेढ वर्षदेखि उनी देश भ्रमणमा निस्केका छन् । त्यसमा पनि उनी पैदल यात्रा गर्ने, केही स्थानमा लिफ्टमार्फत सवारी चढ्ने गरी । उनको यो यात्रा अनौठो छ । लिफ्टमार्फत् यात्रा गर्ने ‘हिच हाइकिङ’मा नेपाल यात्रा गर्ने संभवत उनी पहिलो व्यक्ति हुन् । त्यो पनि कुलतविरुद्धको सन्देश लिएर ।
जन्मदा उनी शरीरिक अपांग थिए । बाल्यकालमा हिँड्न नसकेकै कारण उनले धेरै पढ्न पाएनन् । परिवारमा माया ममता नपाएपछि उनको उपचार भएको थिएन । धेरै पछिमात्र उनको लागि आफन्तको सहयोग जुटाएर अपरेशन गरेपछि निको भयो । अहिले उनी जुत्ता लगाएर हिँड्न सक्ने भएका छन् । उनै व्यक्ति अहिले देश घुम्ने घुमन्ते बनेका छन् । अहिलेसम्म ४४ देश घुमिसकेका छन् ।
पूर्वी नेपालको पाँचथर घर भएपनि यात्रा भने सुदुर पश्चिमबाट थालेका थिए । सन् २०२३ को मार्च २५ गते कञ्चनपुर जिल्लाको सदरमुकामबाट निस्केका थापा मंगलबार बागलुङ आइपुगेका हुन् । आगामी ४ महिनाभित्र ७७ जिल्ला पुग्ने लक्ष्य उनको छ । थापाले अहिलेसम्म कोशीका सबै जिल्ला, सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश घुमिसकेको बताए । गण्डकी प्रदेश प्रवेश गरेका थापा बागमती हुँदै मधेस प्रदेश घुमेर ७७ जिल्ला पु¥याउने लक्ष्यमा निस्केका हुन् ।
शारीरिक रुपमा दुवै खुट्टा घुमेको र कमजोर भएपछि घरपरिवारबाटै उनी अपहेलनामा परेका थिए । ३ दाजुभाइ र ३ बहिनी सहित ६ जनाको परिवारमा हुर्केका राजालाई घरबाटै हेलाहा थियो । त्यसैले उनले पढ्न पनि पाएनन् । जब खुट्टाको अपरेशन गरेपछि जुत्ता लगाएर हिंड्न सक्ने भए, त्यसपछि भने कुनै न कुनै काम गरेर देखाउने योजना बनाए । परिवारबाट राम्रो साथ नपाएका उनले धेरै समयसम्म सहरमा पसेर मजदुरीसमेत गरे ।
होटल र रेष्टुरेन्टमा काम गर्दा गर्दै उनले ‘हिच हाइकिङ’को योजना बनाएको बताए । सन् २०२३ को मार्च २५ गते कञ्चनपुर जिल्लाको सदरमुकाम पुगेर विद्यालय पढ्ने बालबालिकाबीच अन्तरक्रिया गरेर ७७ जिल्लाको यात्रा तय गरेपछि चाडपर्वमा पनि उनी सडकमै छन् । घर फर्केका छैनन् ।
गत विजयादशमीमा उनी हुम्लाबाट जुम्लाहुँदै कालीकोट पुगेका थिए । हरेक दिन नयाँ मानिस भेट्ने, नयाँ अनुभव गर्ने र यात्रा गर्दै आएको बताए । ‘दशैको दिन केही अप्ठ्यारो भयो, सबै घरघरमा थिए तर बास र खाने अवसर पाएँ,’ उनले भने, ‘अरु दिन खासै अप्ठ्यारो परेको छैन ।’ कतिपयले चोर, फटाहा, काम गर्न नसकेर हिंडेको पनि आरोप लगाएको उनले गुनासो गरे । कतिपयले भने बाटो खर्च दिने खाना खुवाउने, बस्न दिने पनि गरेको सम्झिए ।
कपडा सहितको ठूलो झोला खानेपानीको बोतल बोकेर यात्रामा निस्केका थापाको साथमा मोबाइल मात्रै छ । उनले जता गयो त्यतै फोटो खिच्ने, भेटेका मानिसको अनुभव लिने र आफ्नो अनुभव साट्ने काम गरेका छ् । युट्युव च्यानलबाट यात्राका सबै सामग्री लोड गराएको उनले बताए ।
यात्राकौ अनुभव संकलन गरेर लिपिबद्द बनाउने पनी उनको सोच छ । उनको साथमा लेमिनेसन गरेको ‘लिफ्ट’ लेखेको कागज पनि छ । त्यही कागज देखाएर उनले सडकको लामो यात्रा गर्नुपरेमा बस, कार, मोटरसाइकल र ट्रकमा लिफ्ट माग्छन् । कतिले सहजै दिन्छन्, कतिले दिंदैनन् । केहीले त १० किमीको लिफ्ट माग्दा १५ किमी पनि यात्रा गराइदिएको बताए ।
बस्ती भएको स्थानमा उनी प्रायः गाडी चढ्दैनन् । ‘हरेक पाइलामा फोटो र भिडियो लिने चाहना पनि छ, त्यसैले प्राय त हिंड्छु,’ उनले भने, ‘लामो जंगलको यात्रा, बस्तीबिहीन स्थान, पहरा भीर भएमा गाडी खोज्ने गरेको छ्ु ।’ यो यात्रालाई बिशेषगरी जेष्ठ नागरिकहरुले राम्रो मानेको उनले बताए । उनले जता पुग्छन्, उतै भेट्ने युवालाई लागूपदार्थ सेवन नगर्न र कुलतमा नलाग्न पनि सन्देश दिएका छन् ।