२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

विद्यालयलाई प्रविधिमैत्री बनाउन खेलेको भैलोमा उठ्यो साढे चार लाख


जनमञ्च संवाददाता
  • २१ कार्तिक २०८१ , बुधबार

  • विद्यालयलाई प्रविधिमैत्री बनाउन खेलेको भैलोमा उठ्यो साढे चार लाख

    पर्वत, २२ कात्तिक-  जिल्लाको जलजला गाउँपालिका–६ शालिजामा रहेको शालिजामा माध्यमिक विद्यालयले देउसी भैलो खेलेर साढे चार लाख रुपैयाँ सङ्कलन गरेको छ ।

    विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक पर्ने ‘स्मार्ट बोर्ड’, ‘प्रोजेक्टर’, ‘ल्यापटप’ लगायतका आवश्यक सामग्रीहरू खरिद गर्नका लागि खेलिएको देउसी भैलोबाट उक्त रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक टोपेन्द्र थापा मगरले बताए । हाल बाल विकास केन्द्र र अन्य दुई वटा कक्षामा मात्रै ‘प्रोजेक्टर’ को प्रयोगबाट शिक्षण सिकाई क्रियाकलाप सञ्चालन हुँदै आएकोमा अब भने ‘स्मार्ट बोर्ड’ बाट समेत शिक्षण गर्ने योजना अनुसार विद्यालय परिवारले सेवा क्षेत्र सहित आसपासका क्षेत्रमा भैलो खेलेको हो ।

    शालिजाका बैडाँडा, नेराखर्क, पातालखर्क, गामा लगायतका ठाउँमा खेलिएको भैलोमा जलजला गाउँपालिकाले ५० हजार रुपैयाँ दान गरेको छ । गाउँपालिकाका अध्यक्ष राजु आचार्य र उपाध्यक्ष दीपक आचार्य लगायतका जनप्रतिनिधिहरू नै भैलोमा सहभागी भएर उक्त सहयोग गरेका हुन् । यस्तै वैदेशिक रोजगारीमा पुगेका गाउँलेहरूबाट करिब ४० हजार रुपैयाँ आएको र अझै रकम आउने क्रम जारी रहेको प्रधानाध्यापक मगरले बताए ।

    चोरी, डकैती, झैझगडा लगायतका कारण वर्षौँ अगाडिदेखि उक्त क्षेत्रमा देउसी भैलो खेल्न नखेल्ने गरिएको थियो । स्थानीयबासीहरु स्वयंले नै आफूहरू पनि भैलो नखेल्ने र आफ्नो ठाउँमा अरूलाई पनि भैलो खेल्न नदिने गरेका थिए तर यस पटक भने विद्यालयलाई आधुनिक प्रविधियुक्त बनाउनको लागि विद्यालयबाट प्रस्ताव आएपछि गाउँलेहरूलाई भेला पारेर प्रस्ताव गरेपछि सबैको सहमतिमा भैलो खेलिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर पुर्जाले बताए ।

    त्यस क्षेत्रमा वर्षौँ पहिलेदेखि भैलो खेल्नमा स्थानीयले प्रतिबन्ध लगाउँदै आएकोमा यस पटक शैक्षिक सुधारको लागि प्रतिबन्ध हटाएर विद्यालयको आधुनिकीकरणको अभियान थालेकोले आफूहरूले नै सहभागी भएर देउसी भैलो टोलीलाई आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष आचार्यले बताए । गाउँपालिकाले प्राथमिकताका साथ विद्यालय शिक्षामा गुणस्तर र प्रविधिको उच्च प्रयोगलाई अगाडि बढाइरहेको बेलामा विद्यालय स्वयं नै अग्रसर भएर देउसी भैलोको माध्यमबाट प्रयास गरेकोमा उनले विद्यालयलाई धन्यवाद पनि दिएका छन् ।
    गाउँपालिकाका सबै विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन खोजिएको तर सबैलाई विद्यालयलाई आवश्यकता अनुसार रकम विनियोजन गर्न नसक्दा पालो अनुसार दिँदै जाँदा ढिला हुन सक्ने भएकाले विशेष अवसरमा सञ्चालन गरिने यस्ता अभियानले विद्यालयले सफल बन्ने अध्यक्ष आचार्यको भनाई छ । देउसी भैलो मात्रै नभएर गाउँमा लाहुरे आउँदा आमा समूहले घरमै पुगेर गीतमार्फत गर्ने स्वागत, विद्यालयका भूतपूर्व विद्यार्थीहरूसँग सहकार्य गर्ने अभियान लगायतका विधिहरू अपनाउन पनि उनले सुझाए ।

    ‘विद्यालयले सुरु गरेको यो अभियान सन्देशमूलक छ । गाउँपालिकाले पनि सबै विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन अभियानहरू चलाइरहेको बेलामा विद्यालयका तर्फबाट भएको यो प्रयासले हाम्रो अभियानमा सार्थकता मिलेको छ’, अध्यक्ष आचार्यले भने, ‘महान् उद्देश्य सहित आर्थिक सहयोग जुटाउन देउसी भैलो सुरु गरेको शालिजा मा.बि.को भैलोमा म आफै पनि सहभागी भएँ । विद्यालयको लक्ष्य प्राप्तिको लागि जलजला गाउँपालिका सधैँ विद्यालयहरूसँगै छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend