१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

३० वर्षपछि निरयघाटमा तोरण तारिंदै


जनमञ्च संवाददाता
  • २२ कार्तिक २०८१ , बिहिबार

  • ३० वर्षपछि निरयघाटमा तोरण तारिंदै

    बागलुङ, २२ कात्तिक- हरिवोधिनी एकादशीको अवसरमा बागलुङको निरयघाटमा ऐतिहासिक मेला आयोजना गरिने भएको छ । झण्डै ३० वर्षदेखि रोकिएको एकादशी मेलालाई जीवन्तता दिन राधाकृष्ण मन्दिर सेवा समितिले अगुवाई गरेको हो ।

    हरिवोधिनी एकादशी मेला व्यवस्थापन समिति गठन गरेर यहाँको ऐतिहासिक बिरासतहरु झल्काउने लक्ष्य राखिएको समितिका अध्यक्ष रमेश राजभण्डारीले बताए । साथै निरयघाटमा फूलको तोरण तार्ने कार्यक्रम समेत गर्न लागिएको हो । समितिले पत्रकार सम्मेलन गरेर ३० वर्षदेखि रोकिएको मेलालाई जीवन्तता दिन लागेको बताएको हो ।

    २०५०÷०५१ सम्म नियमित फूल तार्ने र मेला लाग्ने गरेकोमा सशष्त्र द्वन्दपछि यो मेला रोकिएको थियो । प्रशासनले पनि मानिसहरु जम्मा गर्न नदिने र रातको समयमा त कुनैपनि काम गर्न नपाइने गरी रोक लगाएपछि एकादशीको मेला लोप भएको थियो । ‘अब भने यस्ता ऐतिहासिक महत्वका पर्वलाई जीवन दिनुपर्छ भनेर पहल गरेका छौं’ राजभण्डारीले भने, ‘सबैको साथ र सहयोग भएमा मेलाले जीवन पाउनेछ ।’
    त्यसका लागि बुधबारबाटै तोरण बनाउन शुरु भएको छ । तोरणका लागि बाबियो र कुसको संकलन गरेर बानपा ४ को गौरीधाम मन्दिर व्यवस्थापन समितिले तोरण बनाउने जिम्मा समेत लिएको छ । समूहले झण्डै १ सय ५० मीटरको तोरण बनाउने छ ।

    फूलको डोली, तोरणमा फूल लगायतका सामाग्री भर्ने, लक्ष्यवर्ती दिप प्रज्वलनका लागि तयारी समेत थालिएको हो । आर्थिक संकलन, प्रचारप्रसार, सरसफाइ, गंगापूजन, तोरण निर्माण प्रसाद तथा दिप संकलन लगायतका उपसमिति गठन गरेर काम पनि शुरु भएको समितिका अगुवा हरिप्रसाद शर्माले जानकारी दिए ।

    कात्तिक २६ गते तोरण पूजा गर्ने र बागलुङ बजारमा तोरणयात्रा गर्ने योजना बनाइएको छ । २७ गते एकादशीको दिन बिहान ६ बजेबाटै तोरणसहित कालीगण्डकी नदी किनारमा यात्रा गर्ने र गंगास्नान पछि तोरण तार्ने कार्यक्रम गरिनेछ । ऐतिहासिक मेलाका अन्य क्रियाकलापहरुमध्ये भजन, पञ्चेबाजालगायत पनि तयारी गरिएको छ । साथै कालीगण्डकी नदीलाई पौडी खेलेर तर्ने मानिस पनि तयार भएका छन् । उनले तोरण तार्न सहयोग गर्नेछन् । त्यस दिन फूल तार्न चाहने व्यक्तिगत कोही भएपनि समितिले आब्हान गरेको छ ।

    हिन्दुधर्ममा हरिबोधिनी एकादशीको ठूलो महत्व छ । यो दिन गंगा स्नान गरेर भगवान बिष्णुको अवतारको रुपमा तुलसीको पूजा समेत गरिन्छ । तुलसीको मठ सिगारेर राखिन्छ । तोरण तार्दा मानिसहरुले जानी नजानी गरेको पापबाट तर्ने विश्वास पनि गरिन्छ । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समिति, बागलुङ नगरपालिका लगायतका संस्थाले पनि यो मेलाका लागि सहयोग गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend