म्याग्दी, २३ कात्तिक-म्याग्दीको मंगला गाउँपालिका–२,बावियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको देउसीभैलोमा एकैपरिवारबाट ५ लाख ७६ हजार सहयोग भएको छ ।
क्याम्पसले २ करोडको मुद्धती/अक्षयकोष तथा आर्थिक संकलन अभियानमार्फत समुदायमा सञ्चालन गरिरहेको देउसीभैलोमा अमेरिका र यूकेमा रहेका छोरी डा. रेखा रोका, डा. रंजना रोका र डा. स्वस्ती रोकाले १ लाख ९२ हजारका दरले सहयोग गरेका छन् ।
मंगला गाउँपालिका अध्यक्ष एवम् क्याम्पसका सम्मानार्थ संरक्षक सतप्रसाद रोका, क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक संकलन उपसमिति संयोजक उश्दा रोकाका तीन छोरीले कोषमा नगदै उक्त सहयोग गरेको क्याम्पस सञ्चालक समिति अध्यक्ष यामबहादुर थापाले बताए ।
‘देउसीभैलोमार्फत प्राप्त सबैभन्दा ठूलो सहयोग हो, हामीलाई ५ सयदेखि लाखसम्म सहयोग प्राप्त भइरहेको छ’ अध्यक्ष थापाले भने । रोका परिवारबाट मात्रै हालसम्म १४ लाख १ हजार ५० रुपैयाँ सहयोग प्राप्त भएको छ । देउसीभैलोमा बुधबारसम्म ४० लाखभन्दा बढी सहयोग जुटेको छ । देउसीभैलो अभियान अगाडी नै कोषमा १३ लाखभन्दा बढी आर्थिक संकलन भइसकेको थियो ।
घरायसी समस्याले सहरबजारमा गएर पढन नसकेका छोरीबुहारीलाई बरदान नै बनेको क्याम्पसले आर्थिक संकटमा समेत समुदायमै पुगेर अहिलेसम्म गरेको शैक्षिक तथा भौतिक सफलताको सन्देश सुनाउँदै विभिन्न माध्यमबाट आर्थिक संकलनको अभियान सञ्चालन गर्ने गरेको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताए ।
‘गाउँका बृद्धबृद्धा क्याम्पस सञ्चालन भएकोमा खुसी हुदैं आफ्नो पेन्सन, छोराछोरीको कमाई र बचत बाट खुलेर सहयोग गर्नुभएको छ, हामीले बिहिबारसम्म सम्पूर्ण विवरण सार्वजनिक गछौं’ क्याम्पस प्रमुख खत्रीले भने ।
मंगला गाउँपालिकाभित्रका ३७ सय घरधुरीबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा भर्चुयल माध्यमबाट क्याम्पसको शैक्षिक कोषमा सहयोग जुटाउने अभियान लक्ष्य प्राप्ती भएसम्मका लागि जारी रहने क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक संकलन उपसमिति संयोजक उश्दा रोकाले बताइन् ।
समुदायबाटै प्राप्त सहयोगबाट सञ्चालित क्याम्पसले यो अभियानमार्फत पूर्वकालिन प्रध्यापकलाई तलबसुविधा, क्यूएए प्रक्रियाका पूर्वाधारहरु तयार गर्न, गरिब तथा विपन्न बर्गका विद्यार्थीहरूलाई छात्रबृत्ती प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन समेत देउसीभैलो अभियान प्रभावकारी भएको बताइएको छ ।
क्याम्पसले १२ लाख सहयोग गर्नेलाई संरक्षक, ७ लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, १ लाख सहयोग गर्नेलाई आजीवन सदस्य, ५० हजार सहयोग गर्नेलाई बरिष्ठ सदस्य र ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पससभा सदस्य प्रदान गर्ने जनाइएको छ ।
क्याम्पसमा पश्चिम क्षेत्रमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत संकलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भबन, प्रशासनिक भवन, छात्राबास सहितको संरचना समेत बनेको छ ।
हाल शिक्षा शास्त्र संकायमा स्नातक तहमा २४० जना विद्यार्थी अध्ययनरत छन्। सहरमा पढन जान खर्च नभएर छाडेका धेरै छोरीबुहारीलाई बरदान सावित भएको क्याम्पस समुदायको जगमै स्थापित भएको क्याम्पसले विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तिको अभियानमा समेत जुटेको छ ।