बागलुङ, १२ मंसिर- बालमैत्री नगर तथा गाउँपालिका बनाउने अभियान सफल पार्न विद्यालयका शिक्षकहरुलाई तीन दिने तालिम दिइएको छ ।
भिएसओ नेपालको आर्थिक तथा हेम्फेल फाउण्डेसनको प्राविधिक सहयोगमा भीमापोखरा युवा क्लब बागलुङले संचालन गरेको सिकाइ परियोजनामार्फत बालमैत्री अभियान सफल पार्न शिक्षकहरुलाई तालिम दिइएको हो ।
बालमैत्री अभियानको सफलतासँगै विद्यालय र समुदाय समेत लैंगिकमैत्री बन्नुपर्नेमा तालिममा जोड दिइएको छ । बिवाईसीले संचालन गर्दै आएको सिकाई परियोजनाअन्र्तगत कार्यक्रम संचालन भएका जैमिनी र काठेखोलाका शिक्षकका लागि तालिम सम्पन्न गरिएको हो ।
पहिलो चरणमा ६० र परियोजनाको उत्तरार्धमा थप ६६ विद्यालयमा परियोजनाले तालिम चलाएको हो । दोश्रो चरणको कार्यक्रमअन्र्तगत ३० विद्यालयका शिक्षकलाई संचालित तालिम मंगलबार समापन गरिएको क्लबका अध्यक्ष तोयानाथ गौतमले बताए ।
बिशेषगरी नेपाल सरकारले आगामी २०८७ सम्ममा देशलाई नै बालमैत्री बनाउने लक्ष्य राखेको छ । उक्त लक्ष्य भेट्नका लागि पालिकाहरुले अहिलेदेखि नै बालमैत्री अभियान थालेका छन् । गलकोटले गत वर्ष घोषणा गरिसकेको छ भने बागलुङ नगरपालिकाले आगामी पुस मसान्तमा घोषणाको तयारी गरेको छ । अन्य पालिकाले पनि अभियान चलाइरहेको सन्र्दभमा परियोजनाले सोही लक्ष्यमा साथ दिने कार्यक्रम चलाएको हो ।
चरणबद्द रुपमा चलेका तालिमबाट विद्यालयमा शिक्षक र विद्यार्थी बीचको सम्बन्ध सुधार भएको, सिकाइमा सुधार आएको समेत शिक्षकहरुले बताए । तालिममा मुख्य प्रशिक्षकको रुपमा बच्चुराम बस्नेतले सहजीकरण गरेका थिए । तालिम समापनको अवसरमा काठेखोला गाउँपालिका वडा नंं १ का अध्यक्ष खड्ग थापाले तालिम पाएका शिक्षकले समाजमा शिक्षाको दियो बाल्नुपर्ने बताए । गाउँमा शिक्षित अगुवा शिक्षक मात्र भएकोले समाजलाई सकारात्मक परिवर्तनमा पनि शिक्षकको भूमिका हुने बताए ।
क्लबका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षता र कार्यक्रम अधिकृत बिमल शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । तीन वर्षदेखि दुइ पालिकामा सिकाई परियोजना संचालनमा छ ।