बागलुङ, १३ मंसिर- गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्र सुधारका लागि योजनाबद्ध काम भैैैरहेको बताएका छन् ।
तत्कालिन, मध्यकालिन र दिर्घकालिन योजना तयार गरेर प्रदेश सरकार र मन्त्रालयले आफ्ना काम थालेको भन्दै मन्त्री पाठकले आधारभुत स्वास्थ्य सेवाबाट कोहीपनि प्रदेशबासी बञ्चित नहुने वातावरण बन्दै गएको दाबी गरे ।
सबै स्वास्थ्य संस्थामा सरकारले निशुल्क वितरण गर्ने औषधि तथा सेवा बिस्तारमा प्रदेश सरकार केन्द्रित रहेको उनले बताए । तीन तहका सरकारले फरक फरक ढंगले काम गर्ने भएकाले प्रदेश सरकारले पूर्वाधार र जनशक्तिको आवश्यकता पूर्ती गर्ने काममा जिम्मेबार ढंगले काम थालेको पाठकले बताए ।
बागलुङ नगरपालिका–१२ अमलाचौर वडा कार्यालयले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पाठकले आफ्नो कार्यकालका एकसय दिनको उपलव्धि सार्वजनिक गर्ने चरणमा पुगेको भन्दै जनप्रतिनिधि र कर्मचारीले एक मन भएर काम गर्न सके जनताले सेवा पाउने बताए ।
शनिबार वडा कार्यालयमा आयोजना गरेको एक समारोहमा मन्त्री पाठकलाई बाजागाजा फुलमाला र दोसल्लाले स्वागत तथा सम्मान गरिएको थियो । पाठक अमलाचौरका स्थानीय हुन् । लामो समय राजनीतिमा सकृय पाठक प्रदेश सरकारको मन्त्री भएपछि पहिलो पटक जन्मगाउँ अमलाचौर पुगेका हुन् ।
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पूर्व सांसद डा.सूर्य पाठकले जनतामा रहेको बिकासको चाहना र राज्यको स्रोत साधनका बिचमा तारतम्य नमिलेको बताए । कायौं कामहरु गर्न खोजेर पनि स्रोत साधनको अभावका कारण समयमा पुरा हुन नसकेको बताए । कार्यक्रममा वडाअध्यक्ष कोपिलामणी शर्माले, सडक, भवन, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा वडाका आवश्यकता दर्शाउँदै मागपत्र बुझाएका थिए ।
राजनितिक दलका वडाकमिटिका पदाधिकारी तथा सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले पाठकलाई शुभकामना दिएका थिए ।
जन्मगाउँ पुगेका मन्त्री पाठकलाई बलेवा कालभैरव मन्दिर गुठी व्यवस्थापन समितिले सम्मान गरेको थियो । पाठकले समग्र प्रदेशबासीको आस्थाको धरोहर कालभैरब मन्दिरको चुस्त व्यवस्थापनाका लागि आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । शनिबारनै पाठकले भण्डेमा रहेको चौतारेडाँडा माध्यामिक विद्यालयको बार्षिकोत्सव कार्यक्रममा सहभागि भएका थिए ।