बागलुङ, ३ पुस-पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुनले वर्तमान सरकारले सुशासन दिन नसकेको आरोप लगाएका छन् । उनले वर्तमान सरकारका दलहरु एकपछि अर्को सत्तामा जाने दाउमा मात्रै रहेको बताएका छन् ।
उनले कांग्रेस र एमाले मिलेर दुइ दलीय व्यवस्था लाद्ने प्रयासमा रहेको पनि आरोप लगाए । उक्त प्रयासले दलाल पूजिबादीहरु सल्बलाएको पनि बताए । सोमबार माओवादी निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संघ, बागलुङ र माओवादी केन्द्रले आयोजना गरेको ‘वर्तमान सन्दर्भमा हाम्रो दायित्व’ विषयक अन्तरक्रियामा पुनले माओवादीले सबल अर्थतन्त्र र बहुदलीय सहअस्तित्वको व्यवस्था स्थापित गर्न खोजेको बताए । पुनले वर्तमान सरकार माओवादीसहित विपक्षी दलको आवाज थुन्ने र जनतालाई पनि स्वतन्त्र रुपमा दलहरु रोज्ने अवसरबाट वञ्चित गर्न खोजेको भन्दै आलोचना समेत गरेका छन् । पछिल्लो समय सरकारले अध्यादेश ल्याउने प्रयास गरेको प्रसंग त्यसको उदाहरण भएको पुनको आरोप छ ।
उनले गत उपनिर्वाचनबाट पनि सत्ताधारी दलहरु तर्सेको बताए । ‘उपनिर्वाचनले माओवादी एक्लै लड्न सक्छ भन्ने देखिएको छ’ पुनले भने, ‘माओवादीले परिवर्तनको नेतृत्व गरेको छ, सत्ताधारीहरु परम्परागत र दलाल पूजिपतिको नेतृत्व गर्छन् ।’ गत निर्वाचनको तथ्यले माओवादीप्रति नागरिकको विश्वास बढेको देखिएको दाबी गरे ।
अर्को प्रसंगमा उनले स्वदेशी उत्पादन बढाउने गरी कार्यक्रम ल्याउनुपर्ने बताए । उनले कृषि, जलविद्युत, पर्यटन, आइटि र उद्योगको विकासबाट रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र बनाउन सकिने बताए । सिमेन्ट, चुनढुंगा र वनजन्य उद्योगहरु स्वदेशी कच्चापदार्थबाटै संचालन गरेर फाइदा लिन सकिने उनको भनाइ थियो । उदारीकरणमा आएको विकृति भित्रन नदिने बरु स्वदेशी उत्पादनलाई लगानी बढाउन सक्नुपर्ने उनको सुझाव छ ।
‘मैले अर्थमन्त्री हुँदापनि उदारीकरण, विश्वव्यापार संगठन भन्दा आफ्नो उत्पादनमा जोड दिने नीति ल्याएको थिएँ’ उनले भने, ‘मध्यम तथा न्युन वर्गको रोजगारी हुने उद्योग र उत्पादनबाट नेपालको अर्थतन्त्र सुदृढ हुन्छ ।’ पर्यटक बढाउने, कृषिमा आत्मनिर्भर तथा आइटी व्यवसाय र सेवा निर्यातबाटै अर्थतन्त्र सुदृढ हुने उनले बताए । ‘आइटी व्यवसाय निर्यातबाट अहिले हजारौं युवा रोजगार बन्ने अवस्था छ’ उनले भने, ‘त्यसका लागि कुनै सडक, भन्सार र अन्य सामाग्री चाहिंदैन ।’ ग्रामीण क्षेत्रमा बसेर पनि आइटीमा फड्को मार्न सकिने उनले बताए ।