बागलुङ, ४ पुस- संगठन निर्माणका लागि कांग्रेसले थालेको सय दिने अभियानअन्र्तगत दैनिक कार्यक्रमहरु संचालनमा छन् । वडा, प्रदेश क्षेत्र, क्षेत्रीय कार्यसमिति र जिल्ला तह सम्मका कार्यक्रमहरु भएका हुन् । बुधबार पनि विभिन्न कार्यक्रम गरेर कांग्रेसले सय दिने अभियान गरेको छ । बागलुङ निर्वाचन क्षेत्र नं. १ को आयोजनामा बुधबार सबै वडा, गाउँपालिका, नगरपालिका र प्रदेश क्षेत्रका सभापति र सचिव तथा अगुवा कार्यकर्तालाई प्रशिक्षण समेत गराएको छ ।
कांग्रेस प्रशिक्षण विभागका सदस्य देवराज चालिसेले पार्टी संगठन, सिद्दान्त र आगामी कार्यदिशाबारे प्रशिक्षण गरेका थिए । उनले कार्यकर्तालाई हिजोको इतिहास हेरेर मात्र नभइ स्पष्ट भावी कार्यदिशा लिएर जनताको घरदैलोमा पुग्न सुझाव समेत दिए । पछिल्लो समय संसदको सिट संख्या बढेपनि घट्दो जनमतलाई बढाउने काममा लाग्नुपर्नेमा जोड दिए ।
समाजवादी मुलुक निर्माणका लागि पुजिवादको अधिकतम उपयोग गर्नुपर्ने भन्दै एमसिसिमार्फत विद्युत निर्यातको बाटो खुलाउन र बिआरआइमा अनुदानमार्फत चीन तर्फको सडक निर्माणमा अनुदान लिने नीति कांग्रेसको भएको समेत बताए । ‘सिल्क रोडमार्फत चिनको लगानीमा बन्ने विद्युत चिनतर्फ र एमसिसिमार्फत गोरखपुरहुँदै भारतमा विद्युत निर्यात गर्ने कांग्रेस नीति हो’ उनले भने, ‘एमसिसिको एक वर्ष नपुग्दै भारतमा विद्युत निर्यात शुरु भैसकेको छ ।’
चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा मात्रै नेपालले भारततर्फ ९ खर्बको विद्युत निर्यात गरिसकेको भन्दै यो क्रमले वर्षमा ३६ खर्बको विद्युत निर्यात गर्न सक्ने बताए । बिआरइको अनुदान कार्यक्रम मार्फतका योजना पुरा हुँदा चीनतर्फ पनि उत्तिकै अंकमा वस्तु तथा सेवा निर्यात हुन सक्ने उनले बताए ।
पञ्चशिलको सिद्दान्तको आधारमा बीपी कोइरालाले अंगालेको चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने र एक चीनको पक्षमा रहने प्रतिवद्दता कायमै राख्दै हालको सरकारको तर्फबाट पनि कांग्रेसकै पहलमा बिआरआइलाई साझेदारी फ्रेमवर्कमा सहयता लिने निर्णय गरेको उनले बताए ।
कार्यक्रममा कांग्रेसका युवा नेता तथा स्वास्थ्य मन्त्री प्रदिप पौडेलका विज्ञ सल्लाहकार प्रताप पौडेलले कांग्रेसको आर्थिक विकासको पाटो र कांग्रेसका कार्यकर्ताले अंगिकार गर्नुपर्ने नीतिबारे प्रशिक्षण गराएका थिए । उनले जनताको पक्षमा नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने सरकार तथा पात्रहरु चाहिएको बताए । स्वास्थ्य मन्त्रालयमार्फत आम नागरिकको स्वास्थ्यमा सुधार ल्याउने र स्वदेशी पूजि विदेशिन नदिनका लागि गर्नुपर्ने काम बारे प्रष्ट्याए ।
नेपाली कांग्रेस बागलुङ क्षेत्र नंं १ का सभापति चण्डीप्रसाद शर्माको अध्यक्षता र सचिव जयराम भारीको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला सभापति जितबहादुर शेरचनले सबै कार्यकर्ता अनुशासित र कर्तव्यनिष्ठ बन्नुपर्ने सुझाव दिएका थिए ।
यसैबीच अभियानकै क्रममा केन्द्रीय सदस्य एनपि साउदले बागलुङका कार्यकर्ता भेट गर्दै ठूला दल मिलेर सरकार बनेपनि जनताको पक्षमा काम गर्न नसकेको बताएका छन् । काठमाण्डौं महानगरपालिकाका संस्थापक मेयर पिएल सिंहको निधनले मंगलबारको कार्यक्रम रद्द भएपछि अनौपचारिक भेटमा उनले जम्बो सरकारले चुस्त काम नगरेको टिप्पणी गरेका हुन् ।
बागलुङ क्षेत्र नं. १ का कार्यकर्तालाई उनले केन्द्रीय सरकार गतिशिल नभएपनि स्थानीय सरकारलाई गतिशिल बनाउन कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टी भित्रका गुट उपगुटको अन्त्य गर्ने र जनतालाई पार्टी र सरकार भएको अनुभूति दिलाउने काममा युवा पुस्ताको योगदान चाहिएको पनि बताए ।