९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
बडिगाडको खर्बाङमा सार्वजनिक सुनुवाई

शिक्षकहरुले भने : ‘मासिक तलव कहिले आउँछ ?’


जनमञ्च संवाददाता
  • ४ पौस २०८१ , बिहिबार

  • शिक्षकहरुले भने : ‘मासिक तलव कहिले आउँछ ?’

    बागलुङ, ४ पुस-चौमासिक तलबभत्ता लिँदै आएका शिक्षकहरुलाई मासिक तलब दिने पालिकाहरुले कयौं पटक निर्णय गरेका छन् । तर पालिकाले गरेको मासिक तलबभत्ता भुक्तानीको निर्णय कार्यान्वयन हुन सकिरहेका छैनन् ।
    निजामती कर्मचारी सरह सेवा सुविधाको माग गर्दै आएका शिक्षकहरु स्थानीय सरकारसँग हरेक सार्वजनिक समारोहमा मासिक तलबभत्ता पाउनुपर्ने माग गर्छन् । शिक्षक मात्रै होईन सरोकारवाला र सर्वसाधारणले शिक्षकलाई मासिक तलब दिने विषयमा चासो व्यक्त गर्छन् ।
    मंगलबार जिल्लाको बडिगाड गाउँपालिकाले वडा नं. २ खर्वाङ बजारमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा सर्वसाधारणले शिक्षकले मासिक तलब नपाएको विषयमा आवाज उठाए । स्थानीय रमेश खरेलले गाउँपालिका अध्यक्षलाई संकेत गर्दै भने, ‘हजुरले मासिक तलब दिने भनेर घोषणा गर्नुभयो तर तलब त मासिक रुपमा आउँदैन भन्छन् !’ उनले मासिक तलब दिन नसक्नुको कारण नै गाउँपालिकासँग सोधे । खरेलले यो प्रश्न गर्नुअघि प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले गाउँपालिकाको कुल बजेटमध्ये झण्डै ३४ करोड शिक्षकको तलब भत्तामा खर्च हुने बताएका थिए ।
    बढ्दो महंगी, दिनानुदिनका समस्यासँग जुध्नुपर्ने भएकाले चौमासिक तलब आँफुहरुका लागि प्रतिकुल बन्ने गरेको शिक्षकहरुको गुनासो छ । अन्य कर्मचारीले जस्तै मासिक तलब पाउँदा शिक्षकको मनोबल बढ्ने उनीहरु बताउँछन् ।
    गाउँपालिकाले भने प्राबिधिक कारणले तलब भुक्तानीमा समस्या भएको जनाएको छ । गाउँपालिका तयार हुँदाहुँदै विद्यालय र प्रधानाध्यापकका कारण मासिक तलव भुक्तानीमा समस्या भएको अध्यक्ष गण्डकी थापा अधिकारीले बताईन् । ‘मासिक तलव भुक्तानी गर्न हामीलाई समस्या छैन्’ उनले भनिन्, ‘प्रधानाध्यापकहरुले हरेक महिना माग फाराम भर्न सकिन्न भनेपछि काम रोकिएको हो ।’
    सार्वजनिक सुनुवाईमा सर्वसाधारणले लघुजलविद्युतको तार लत्रेको, समयमै जन्मदर्ता नभएको, फोहर व्यवस्थापन नभएको, नगरले ल्याएको नीति कार्यान्वयनमा समस्या देखिएको, फजुल खर्च बढेको, सुरक्षामा ध्यान नदिएको, स्वयंसेविकाको दुःख नदेखेको, हुलाक कार्यालय सरेको लगायतको विषयमा जिज्ञासा राखेका थिए ।
    गाउँपालिकाले सुशासन र पारदर्शिताका लागि पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक बजेट खर्च, योजना तथा अन्य सवालमा उठेका जनताको जिज्ञासा मेटाउन सार्वजनिक सुनुवाई आयोजना गरिएको हो ।
    स्थानीय तहको सुशासन, सामाजिक उत्तरदायित्व, पारदर्शिता एवं जवाफदेहिताको लागि आयोजित सर्वाजनिक सुनुवाईमा खानेपानीको समस्या, सडक मर्मतमा भएको ढिलाई, शिक्षा क्षेत्रको समस्या, कृषि क्षेत्रको समस्याका विषयमा नागरिकले प्रश्न उठाएका थिए ।
    बडिगाड गाउँपालिकाको आर्थिक सहयोग तथा बागलुङ पोष्ट सञ्चार प्रालिको समन्वयमा भएको कार्यक्रममा नागरिकहरुले शिक्षा, स्वास्थ्य, कृषि तथा पशु सेवा, प्रशासनिक क्षेत्र लगाएतका क्षेत्रमा सवाल उठाएका छन् । कार्यक्रममा स्थानीय ढालेन्द्र रायमाझी, मेघनाथ खरेल, रमेश खरेल, अनिष पाठक, सुदिप कार्की, कृष्ण कुमारी राना र शेर बहादुर श्रीष लगायतले नागरिकको तर्फबाट प्रश्न, सुझाव तथा जिज्ञासा राखे ।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुक्ती पौडेलले पहिलो चौमासिकमा ९ प्रतिशत पूजीगत खर्च भएको जानकारी दिए । ५ सय ४३ योजनामध्ये १ सय ३० योजना सम्झौता भएर ८ वटा योजना सम्पन्न भइसककेको पौडेलले बताए । २० करोड आम्दानीमा १५ करोड खर्च भइसकेको उनले जानकारी दिए ।
    कार्यक्रममा पत्रकार विजय रानाले टिप्पणी गर्दै नागरिकको सेवा प्रवाहमा गुणस्तर बढाउदै लैजान सुझाव दिए । कार्यक्रम बडिगाड गाउँपालिकाका सुशासन समितिका संयोजक विष्णु आचार्यको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण पत्रकार डम्मर बुढाले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend