बागलुङ, १२ पुस-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले जतिसुकै व्ययभार सहेर पनि दुरदराजका जनताको स्वास्थ्य सेवा दिने बताएका छन् । शुक्रबार बुर्तिवाङ अस्पतालको उद्घाटन गर्दै पाण्डेले जतिसुकै समस्या आएपनि नागरिकको स्वास्थ्य सेवामा साथ दिने बताए ।
उनले अन्य विकासका काम ढीला गरेपनि नागरिकको स्वास्थ्य सुधार पहिलो प्राथमिकतामा राखेको बताए । ‘अरु काम गर्दै गरौला, जनताको जीवन बचाउन नसके किन सरकारको नेतृत्व गर्ने ?’ पाण्डेले भने, ‘त्यसैले सरकारले व्ययभार सहेर पनि बुर्तिवाङमा अस्पताल खोलेका हौं ।’ सबै काम एकैपटक नभएपनि क्रमिक रुपमा हुने उनले बताए ।
बुर्तिवाङ अस्पतालमा ५० शैयाको पुर्याउने समेत उनले बताए । ‘क्रमिक रुपमा बिशेषज्ञ र सामानहरु आउदै गर्छन्’ उनले भने, ‘दुरदराजमा आएर सेवा गर्ने डाक्टरलाई पनि प्रोत्साहन गरौं ।’ पाण्डेले चालु वर्ष गोरखाको आँपपिपल र बुर्तिवाङ अस्पताल संचालनमा आउने बताए ।
यस्ता अस्पताल बनाएर सरकारले एयर लिफ्टीङको लागत घटाउन समेत लागेको बताए । गण्डकी प्रदेश सरकारले ६७ जना गर्भवतीलाई प्रसुती समयमा हेली उद्दार गरेकोमा २९ जना बागलुङ लगायतका ग्रामीण क्षेत्रबाट उद्दार गरिएकोले बुर्तिवाङ अस्पतालको आवस्यकता भएको उनको भनाई थियो ।
निर्माण भएका अस्पताल र जुटाइएका उपकरण सदुपयोग गर्ने काम भने स्थानीयको भएको उनले बताए । ‘आजकल सकारात्मक धारणाभन्दा नकारात्मक धारणा बढेको छ, भएका कामबाट फाइदा लिनेभन्दा टिप्पणी गर्नेहरु बढी छन्’ उनले भने, ‘अब विकासलाई अपनत्व लिन सक्नुपर्छ ।’ हुन नसकेका कामको मात्रै आलोचना गर्न पनि उनले सुझाए ।
गत वर्षको निर्णयपछि गण्डकी प्रदेश सरकराले यो वर्ष ओएनएम गरेर जनशक्ती समेत थप गरी अस्पताल संचालन गरेको हो । २०६७ सालमा तत्कालिन बागलुङ जिल्ला अस्पताललाई अञ्चल हुँदै प्रादेशिक अस्पताल बनाएपछि यहाँ जिल्ला अस्पताल थिएन । भवन पर्याप्त भएर पनि जनशक्ती तथा राज्यको नीतिमै नपर्दा जिल्ला अस्पताल नबनेको हो । अब यहाँ चौबिसघण्टे सेवा संचालन भएको हो ।
अस्पतालले अपरेसन सहितको स्वास्थ्य सेवा थालिसकेको अस्पतालका प्रमुख डा. नविन्द्र ढकालले बताए । कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले आफ्नो मन्त्रीकालको नमुना योग्य काम भएको बताए । उनले पटक पटकको जनताको चाहनालाई पुरा गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रको सुधार गरेर नागरिकको पहुँच बढाउन लगातार काम गरेको जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख बिना थापा, प्रदेश सदस्यहरु जितबहादुर शेरचन, द्रोण कुँवर, स्वास्थ्य सचिव विनोद बिन्दु शर्मा लगायतले गण्डकी प्रदेश सरकारले स्वास्थ्य सेवामा गरेको लगानीले छिटै फाइदा पाउने बताए । साथै ग्रामीण क्षेत्रका जनता अब उपचार नपाएर मर्न नपर्ने पनि बताए ।
बुर्तिवाङबाट सामान्य उपचारका लागि पनि पाल्पा र बुटवल जाने समस्या अस्पताल स्थापनाले हटेको स्थानीयको भनाइ छ । ढोरपाटन नगरपालिकाले पनि यो अस्पताल निर्माणमा पहल गरेको थियो । अस्पतालमा सुविधासम्पन्न ल्याब समेत बनेकोले अबका दिनमा टाढा जाने समस्या हटेको उनीहरुको भनाइ थियो ।