बागलुङ, १९ पुस-मध्यपहाडी लोकमार्गको झण्डै १ सय ४२ किमी खण्ड बागलुङमा छ । यो खण्ड अझै निर्माणाधिन छ । निर्माण सकिएको स्थान पनि भत्केर अस्तव्यस्त छ भने सडकको ठाउँ ठाउँमा अतिक्रमण शुरु भैसकेको छ ।
लोकमार्ग आयोजना कार्यालयले समयमा चासो नराखेको, मापदण्ड स्पष्ट नगरेको र निर्माणको क्रममै मापदण्ड अनुसार काम नगरेपछि अहिलेनै अस्तव्यस्त बनेको हो । हटिया, खरवाङ, भिमगिठे, देविस्थान, बोहोरागाउँ लागयतका बजार क्षेत्रमा त अहिले दर्जनौं घर बनिसकेका छन् । सडक बिस्तार गर्नै परेपनि जग्गा बाँकी छैन ।
बस्ती नभएको स्थानमा पनि खसेका पहिरो र घुम्ती अप्ठ्यारा छन् । कालोपत्रे सकिएको ५ बर्ष सम्म पनि ती घुम्तीको ग्रेड मिलाइएको छैन । हटिया देखि खरवाङ तर्फको २० किमी खण्ड क्षत बिक्षत छ । कतिपय पहिरो समेत पन्छाइएको छैन । सडक भासिएको स्थानमा एकतर्फी मात्र सवारी गुड्छन् । ठूला बस र ट्राक जोखिम मोलेर गुड्छन् । सडकमा परेका खाल्डाले साना सवारी साधन ठोकिन्छन् । कालोपत्रे भनेपनि धुलाम्मे सडकको यात्राले यात्रीले सास्ती खेप्छन् ।
मनेवास्थित दरमखोला जलविद्युत आयोजनाले डेढ किमी सडक खनेर पाइपलाइन बिच्छ्याएपछि यहा“ पनि धुलाम्मे छ । तीन बर्षदेखि खनेको सडक कालोपत्रे गरिदिने भनेपनि अझै काम गरेको छैन । सडक छेवैमा घरटहरा र विभिन्न संरचना बनिरहेका छन् । सडकको नाली फोहोरले बुझिएको छ । तर सामान्य मर्मत पनि भएको छैन । सडक छेवैमा बनिरहेका संरचना हटाउने गरी कसैले काम गरेको छैन । दोहोरो पना आउने डरले पालिकाले सडक सफाइ गर्दैनन् भने आयोजनाले वास्ता नगर्दा दुर्घटनाको जोखिम बढीरहेको छ । बागलुङ बजारदेखि घोडाबा“धे सम्मको २५ किमी खण्ड त अझै बनिसकेकै छैन । सिद्दिसाइ भारत संयुक्त निर्माण कम्पनीले जिम्मा लिएको पहिलो १३ किमी खण्ड अलपत्र परेपछि कालोसूचिमा राख्ने तयारी हु“दा ९ वर्षपछि पेटी ठेकेदारमार्फत काम शुरु भएको छ । त्यसपछिको दोश्रो १२ किमी सडकखण्ड ९ वर्षदेखि अलपत्र पारेपछि सूर्य कन्स्ट्रक्सनको ठेक्का रद्द भएको छ ।
गत बर्षातमा खसेका झाक्रीस्थान र काफलठुटा नजिकैको घुम्ती मर्मत नहु“दा सवारी साधनले जोखिम मोलेर यात्रा गरेका छन् । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले गतबर्ष यो खण्डमा मात्रै ५० लाख बढी खर्चेर पर्खाल र नाली बनाएकोमा बर्षातमै भत्केको थियो । बडिगाड गाउ“पालिका भित्र पर्ने २९ किमी सडक मध्ये खहरे, तुरतुरे र नुवारमा भत्केको खण्ड र पहिरो समेत अझै उस्तै छ । यहा“ जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता छ ।
सडक चौडा पार्ने काम थाल्दा अधिकांस घरटहरा भत्काउनु पर्ने बाध्यता छ । कालोपत्रे भएको ५ बर्ष बितिसक्दा पनि आयोजनाले सडक डिभिजनलाई हस्तान्तरण समेत गरेको छैन । तयारी भएपनि केही समयमा हस्तान्तरण गरेपछि अबको मर्मतको काम सडकले हेर्ने आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले बताए । राजपत्र नभएकोले आयोजनाले जवरजस्ती गर्न नसक्ने उनले बताए ।