बागलुङ, १९ पुस- गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थाप्रति प्रदेश सरकार संवेदनशिल रहेको बताएका छन् ।
स्वस्थ्य जीवनयापन गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएका चर्चा गर्दै दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले काम गरिरहेको बताए । ‘ग्रामिण क्षेत्रका जनतालाई आधुनिक चिकित्सा क्षेत्रसंग जोड्न प्रदेश सरकारले घरदैलोमा पुगेर सर्ने र नसर्ने रोगको स्क्रिनिङ शिविर गरिरहेको छ’ मन्त्री पाठकले भने ।
बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरलाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्दै मन्त्री पाठकले धौलागिरि अस्पताललाई मेडिकल कलेजको रुपमा स्थापित गर्न र आयुर्वेदिक अस्पतालको व्यवस्थापनका लागि काम भैरहेको बताए ।
मन्त्री पाठकले ग्रामिण सडकको स्तरोन्नती आवश्यक रहेको उल्लेख गर्दै सरङ्गी भैरवस्थान सडक, दव्ल्याङको पहिरोलाई व्यवस्थापन गर्न र मरेङघाट भैरवस्थान भकुण्डे पम्पिङ खानेपानी योजनालाई आफ्नो कार्यकालमा सम्पन्न गर्न लागिपरिरहेको सुनाए ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले दिगो विकासको लक्ष्य हासिल गर्नका लागि बालमैत्री नगरलाई कार्यान्व्यन गर्न सबैको सहकार्य आवश्यक रहेको बताए । यो अभियान नगरप्रमु्खको मात्र नभई समग्र नगरबासीको भएकाले यसलाई सफल बनाउन नगरबासीले हातेमालो गर्नुमा जोड दिए ।
कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्मा, वडा नम्वर १३ का अध्यक्ष नारायण शर्मा पौडेल, वडा नम्वर १४ का अध्यक्ष चक्रबहादुर खत्री, वडा बाल संजालका अध्यक्ष दिपिका बिकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडा अध्यक्ष कोपिलामणी शर्माले संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए । वडा सदस्य महानन्द शर्माको स्वागत र वडा सदस्य कल्पना आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।