बागलुङ/ ढोरपाटन शिकार आरक्ष घुम्न आउने पर्यटकका लागि खाना र बस्नको व्यवस्थापनमा सुधार थालिएको छ । स्थानीय युवाहरुको सकृयतामा सञ्चालन भैरहेका होटल तथा घरबासहरुलाई पर्यटक मैत्री बनाउन प्रबिधि, सामग्री र तालिमको व्यवस्थापन गरेर सुधार थालिएको हो ।
जिल्लाको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा टिडिएच जर्मनीको सहयोगमा विवाईसी बागलुङले सञ्चालन गरिरहेको दिगो पर्यटन परियोजना मार्फत होटल तथा घरबासको सुधार थालिएको हो । परियोजनाले पर्यटन प्रर्वद्धन कार्यक्रम अन्तर्गत ४८ समुहका २७ जना सहभागीहरुलाई एक महिने होटल व्यवस्थापन तालिम दिएको थियो । तालिमले उनीहरुमा आत्माविश्वासको बिकासका साथै आन्तरीक तथा वाह्य पर्यटकको रुची र चाहना अनुसारको खाना बासको व्यवस्थापन सिकेको कार्यक्रमका निर्देशक अमर थापाले बताए ।
परियोजनाले तालिम पश्चात होटल तथा घरबासका लागि आवश्यक भान्छाका सामग्री सहयोग गरेको छ । एक जनालाई ५० हजार मूल्य बराबर पर्नेगरी २० जना युवा व्यवसायीका लागि सामग्री सहयोग गरिएको थापाले बताए । निसीखोला गाउँपालिकाबाट ९ जना र ढोरपाटन नगरपालिकाबाट ११ जनाले सामग्री पाएका छन् । त्यस्तै परियोजनाले दशवटा घरबासको रंग रोगनका लागि प्रतिघरबास दश हजार वरावरको सामग्री प्रदान गरेको छ ।
त्यस्तै ढोरपाटन र निसीखोला गाउँपालिकामा घरबास र होटल सञ्चालन गरिरहेका २० जना युवालाई कफी तथा बेकरीका सामग्री पनि प्रदान गरिएको छ । युवाहरुलाई व्यवसायीक बनाउने, पर्यटन मैत्री बनाउने र स्वदेशी उत्पादनकै बजारीकरण हुनेगरी परियोजनाले सहयोग गरिरहेको कार्यक्रम संयोजक उत्तम अर्यालले बताए ।