११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

नो होम डेलीभरीका लागि ‘कालो टिका’ अभियान


जनमञ्च संवाददाता
  • १६ माघ २०८१ , बुधबार

  • नो होम डेलीभरीका लागि ‘कालो टिका’ अभियान

    बागलुङ, १६ माघ- घरमा हुने सुत्केरी हटाउन ग्रामीण क्षेत्रमा समुदाय मिलेर नमूना काम गरिरहेका छन् । उनीहरुले सामाजिक कलंककै रुपमा होम डेलीभरीलाई लिने गरेका छन् । होम डेलीभरीलाई शुन्यमा छार्ने अभियान स्वरुप घरमा सुत्केरी भएमा आमा समूहले घरको सामाजिक नक्सामा कालो टिका लगाइदिने गरेका छन् ।
    निसीखोला गाउँपालिकाका अधिकांस वडाका समुदायमा रहेका आमा समूहले यो विधिलाई अबलम्बन गरेका छन् । त्यस बाहेक अन्य पालिकामा पनि ‘साथ’ विधिको रुपमा यो अभ्यास भएको छ । निसीखोला ६ तिर्खापानी आमा समूहकी सदस्य निरुता बुढा गत कात्तिक १४ गते घरमै सुत्केरी भएपछि आमा समूहले उनको घरमा कालो टिका लगाइदिएको हो । पति सन्तोष बुढासहित घरपरिवारले जान नदिएपछि उनी घरमै सुत्केरी भएकी थिइन् । त्यसपछि गाउँको आमा समूहले बनाएको सामाजिक नक्सामा उनको घरमा कालो टिका लगाइदिएको हो ।
    तिर्खापानीकै मनदेवी घर्तीले पनि घरमै सन्तान जन्माइन् । भिडियो एक्सरे गर्नुपर्ने भएपछि निसी स्वास्थ्य चौकीले उनलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रिफर गरेको थियो । तर घर फर्केर जोखिम मोल्दै कात्तिकको १२ गते उनले छोरालाई जन्म दिइन् । पति देवीराज गोठ जानु परेकोले उनलाई घर कुर्न राख्दा स्वास्थ्य संस्था नगएकी हुन् । अहिले मनदेवीको घरमा पनि कालो टिका लागेको छ । उनको यो पटकको चौथो सन्तान हो । यसअघिका तीन सन्तान जन्माउने बेलामा त उनी झन् गर्भ जाँचमा पनि आएकी थिइनन् ।
    गर्भवती भएपछि ८ पटकसम्म गर्भ जाँच गराउनु पर्ने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुनुपर्ने सरकारी प्रोटोकल उनीहरुले उल्लंघन गरेपछि महिला स्वास्थ्य स्वयंसेविकासहित आमा समूह बैठकपछि घरमा कालो टिका लगाउने गरिएको छ । यो समस्या निसीखोलाका अधिकांस वडामा छ । कतिपयले प्रोटोकल पुरा गर्नै खोज्दैनन् भने कतिपयले भौगोगिक कठिनाइ देखाएर समस्या परेको गुनासो गर्छन् ।
    ‘कालो टिका लाग्नुलाई नराम्रो संकेत मानिन्छ’ निसी स्वास्थ्य चौकीकी अनमी ज्ञानकुमारी बुढाले भनिन्, ‘होम डेलीभरी घटाउने यो सामाजिक विधि हो ।’ घरमै सुत्केरी भएको थाहा पाएपछि तत्काल स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य अवस्था बुझ्ने र उपचार समेत गराएको बुढाले बताइन् । उच्च रक्तचाप, बच्चा उल्टो भएका वा अन्य कुनै जटिल समस्या आउने देखिएमा रिफर गर्ने र नभएपनि उनको शारिरीक अवस्था हेरेर आवस्यक सुझाव दिने काम स्वास्थ्य चौकीमा हुने गरेको छ ।
    निसीको तिर्खापानी, लुप्राङसहित अधिकांस वडाका ग्रामीण बस्तीका महिला गर्भ अवस्थामा पनि खेतीपाती, लेकको गोठमा जाने चलन छ । वस्तुभाउ चराउन लेकमा जाने चलनले पनि प्रोटोकल अनुसार गर्भ जाँचमा नआउनेहरु प्रसस्त भएको बुढाले बताइन् । घरपरिवारले चासो नराख्ने, कामले फूर्सद पनि नपाउनेहरु बढी मात्रामा होम डेरीभरीमा परेको उनले बताइन् ।
    कालो टिका नलाग्नका लागि सुत्केरीपछि पनि ५ वर्ष सम्मका बालबालिकालाई सबै खोप पुरा गर्ने र आमाले आइरन चक्की खाने समेतका प्रावधान पुरा गर्नुपर्छ । स्वास्थ्य प्रोटोकल पुरा नगर्नेलाई दबाव पर्ने भएकोले कालो टिका लगाउने गरिएको निसीखोला ३ स्कुलटोल आमा समूहकी अध्यक्ष कौशीला चन्दले बताइन् ।
    निसीमा घरमै सुत्केरी हुने र गर्भ जाँच नगर्नेको संख्या अत्याधिक छ । स्वास्थ्य चौकीले पनि लागत राख्नै कठिन भएको इन्चार्ज गणेश खड्काले बताए । खड्काका अनुसार आर्थिक वर्ष २०७९÷८० मा १ सय ८ जना सुत्केरी हुने लक्ष्य राखेकोमा २८ जना मात्रै स्वास्थ्य संस्थामा आएका थिए । त्यसपछि २०८०÷८१ मा स्वास्थ्य चौकीले लक्ष्य घटाएर ६३ बनायो । उक्त वर्ष यहाँ ४७ जना सुत्केरी भए । १२ जना घरमै सुत्केरी भएका थिए । चालुवर्ष अहिलेसम्म १६ जना मात्रै संस्थामा आएर सुत्केरी भएका छन् भने २ जना घरमै सुत्केरी भएको उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend