बागलुङ, १९ चैत/ पर्यटकीय गन्तव्य बन्दै गएको टोड्केमा पर्यटक भित्राउन स्थानीयको योजना छ । त्यहिं योजनालाई पुरा गर्न ४६ वर्षदेखि राजधानी काठमाडौंमा बस्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिंका ७९ वर्षिय भीम शेरचन गाउँ फर्किएका छन् ।
राजधानीमा पस्मिना र गलैंचाको व्यवसाय गर्नुभएका शेरचनलाई बुढ्यौलीले गाउँ तान्यो । गतवर्ष फर्किएका शेरचन गाउँमा रमाउँदै पर्यटन व्यवसायमा सक्रिय छन् । पर्यटनमार्फत गाउँको विकास गर्ने उनको सपना छ ।
बुढ्यौलीमा पनि गाउँमा पर्यटक भित्राउने उनको अभियान लोभलाग्दो छ । ‘गाउँ बनाउने हुटहुटीले राजधानीको बसाई बिर्सायो’ शेरचनले भने । उनको एकमात्र लक्ष्य हो– झिंको टोड्केलाई पर्यटकीय गन्तव्य बनाउन टोड्के हिल र मुस्ताङलाई पदयात्राले जोड्ने ।
यो शेरचनको एकल प्रयास भने होइन, यो अभियानमा स्थानीय पनि जोडिएका छन् । गाउँपालिका पहिलो लगानीकर्ता हो । शेरचनका साझेदार गोविन्द पाइजा काठमाण्डौं र मीनबहादुर पाइजा अमेरिका छन् । शेरचनसहित ३६ जनाको सामुहिक लगानीमा रिसोर्ट बनिसकेको छ । ३ करोड लगानीमा रिसोर्ट खुलेपछि स्थानीयले पनि टोड्के क्षेत्र लक्षित गरेर साना व्यवसाय, व्यवसायिक तरकारी खेती र पशुपालन समेत शुरु भएको छ ।
२०७२ सालमा टोड्के क्षेत्र विकास कोष स्थापना भैसकेको थियो । कोषले टोड्केलाई पर्यटन क्षेत्र बनाउने प्रयास गरिरहेकै छ । रघुगंगा गाउँपालिकाले टोड्के पर्यटन गुरुयोजना बनाएर दर्जनबढी कार्यक्रम समावेश गरेको छ । १३ करोडको डिपिआरलाई गाउँपालिकाले दातामार्फत सहयोगको खोजी गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
शेरचनको समूहले गाउँमा लगानीसंगै सहयोग पनि बढाएको छ । तीन वर्षअघि स्थानीयले सडक निर्माण, खेलमैदान, मठमन्दिर र अन्य विकासमा साथ दिएका छन् । टोड्के हिल रिसोर्टमा दैनिक १ सय जना पाहुनालाई राख्न सक्ने क्षमता छ । त्यतिमात्र हैन, अर्गानिक खाना खुवाउने, स्थानीय कला र संस्कृति प्रदर्शन गराउने काम पनि गर्छन् । कतिपय संस्थाले कार्यक्रम समेत टोड्केमा गर्न थालेको शेरचनले जानकारी दिए ।
टोड्केमा धार्मिक र पर्यटकीय गन्तव्य मात्र नभइ खेल पर्यटनको समेत विकास गर्ने उनीहरुको लक्ष्य छ । २ हजार ५ सय मीटर उचाइको टोड्केमा ‘हाइ अल्टिच्युट खेल मैदान’ निर्माणाधिन छ । यहाँको स्वर्गद्वारी मन्दिरलाई घेराबार लगाउने, खानेपानीको व्यवस्थापन, चिल्ड्रेन पार्क, सडक संजालले जोड्ने र सार्वजनिक शौचालय बनाउने काम गाउँपालिकाले सम्पन्न गरिसकेको छ । मालिका मन्दिरसम्म स्तरीय सडक लैजाने लक्ष्य छ ।
झिं गाउँदेखि टोड्के हुँदै मालिकासम्म पदमार्ग पनि बनेको छ । टोड्केदेखि कालीबराह, निलीबराह, धौलागिरि आइसफल हुँदै मुस्ताङको लेते जोड्ने पदमार्गका लागि वृहत गुरुयोजना पनि बनेको छ । टोड्केदेखि धौलागिरि आइसफलहुदै मुस्ताङको लेतेसम्मको ५१ किमी लामो पदमार्गको रेखांकन गरिसकिएको छ । यो पदमार्गबाट जडिबुटीको अध्ययन अनुसन्धान र संकलनपछि प्रशोधन गरेर निर्यात गर्ने लक्ष्य पालिकाको छ ।
टोड्के क्षेत्रमा स्थानीय किसानले फापर, जौ, आलु, भट्ट, मकै फलाउने गर्छन् । सिस्नोको धुलो, टिमुर, मरिच जस्ता मसला समेत गाउँमै उत्पादन हुन्छ । ती उत्पादनले काठमाण्डौंका होटलमा पनि बजार पाएका छन् । ती फसल खानेहरुले टोड्के घुम्ने मन समेत गर्छन् । सिमी, बोडी, सिस्नोको धुलो, मुलाको धजरा, भाँगोको पात समेत ब्राण्डिङ गरेर बिक्री गर्ने तयारी भएको स्थानीय बाबुराम आचार्यले बताए ।