बागलुङ, २० असोज– संविधानले सबै नागरिकलाई न्यूनतम स्वास्थ्य सेवा पाउने हक दिएपनि बागलुङका सबै संस्थामा अझै न्यूनतम सूचक पूरा भएका छैनन् । कुल एकसय अंकमध्ये २० अंक सुशासन, ६० अंक चिकित्सकीय सेवा र २० अंक सहयोग र व्यवस्थापनमा दिने प्रावधान छ ।
सोहीअनुसार स्वास्थ्य कार्यालयले जिल्लाका ६० संस्थामा अनुगमन गरेर सूचकको पहिचान गर्न थालेको छ । काम थालिएका संस्थामा न्यूनतम सूचक पूरा हुन नसकेको भेटिएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए ।
सदरमुकामस्थित धौलागिरि अस्पतालमा गरिएको अध्ययनमा अस्पतालले ८३ अंक पाएको छ । मापदण्डअनुसार कम्तीमा ८४ अंक ल्याएपछि उक्त संस्थामा हरियो संकेत गरिन्छ । हरियो संकेत भनेको न्यूनतम मापदण्ड पूरा गरेको भन्ने हो । उत्कृष्ट बन्नका लागि ९० देखि शतप्रतिशत अंक पाउनुपर्छ ।
‘तोकिएका सूचक पूरा गरी ८४ अंक पाएको संस्थाले न्यूनतम सेवा दिएको भन्ने ठहर हुन्छ,’ घिमिरेले भने, ‘बागलुङमा त्यस्तो भेटिएका छैनन्, अनुगमन पनि हुँदैछ ।’ कार्यालयले अनुगमन मूल्यांकनको काम थालेको उनले बताए ।
कार्यालयले वर्षमा दुई पटक ती संस्थाको अनुगमन र मूल्यांकन गर्नुपर्ने प्रावधान छ । दुई वर्षअघि नै यो व्यवस्था सुरु भएपनि जिल्ला तहमा बल्ल सञ्चालनमा आउन थालेको हो । बागलुङले चालु वर्षदेखि मात्रै अनुगमनको काम थालेको हो ।
‘एकैपटक सबै पालिका र स्वास्थ्य संस्थामा पुग्न नसकिने भएकाले पालिकाको समन्वयमा काम गर्छौं’, घिमिरेले भने, ‘सुधार गर्नुपर्ने विषय पनि औंल्याएपछि क्रमशः सुधार हुन सक्छ ।’ न्यूनतम सेवा मापदण्ड पूरा भएका संस्थालाई कार्यालयले हरियो रंग दिने गरेको हो । न्यूनतम अंक पाउन नसक्नेलाई क्रमशः नीलो, पहेँलो र सेतो रंग दिइन्छ ।
दुई वर्षअघिको तयारी भएपनि कार्यालयले हालै बागलुङ नगरपालिकाको नारायणस्थान स्वास्थ्य चौकीबाट अनुगमन थालेको थियो । उक्त चौकीले भने ७९ अंक मात्रै पाएको हो । सूचक अनुगमनमा फेयरमेड फाउन्डेसन र नगर स्वास्थ्य शाखाले साथ दिएका थिए ।