बागलुङ, २५ कात्तिक– धौलागिरि अस्पताल बागलुङमा दुरबिन यन्त्र प्रयोग गरेर पित्त थैलीको सफल शल्यक्रिया गरिएको छ । चिरेर मात्र हुने अपरेशनबाहेक यो विधिबाट पनि बागलुङमै शल्यक्रिया भएको हो ।
बुधबार भएको शल्यक्रियामा सर्जन डा. सार्जन कुँवर, प्रान्जलचन्द्र पौडेल, एनेस्थेसियोलिोजिष्ट डा. गणेश वन, एजेस्थेसियोलोजिष्ट एवं प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. अमित ढुंगाना, बरिष्ठ नर्सिङ निरीक्षक देवी भट्टराई र स्टाफ नर्स शर्मिला शर्मा समेतको टोलीले उक्त शल्यक्रिया सम्पन्न गरेको थियो ।
अस्पतालमा यसअघि दुरबिन यन्त्र बिधिबाट एपेन्डिसाइटिस, हर्निया, पाठेघरमा पानी जमेको, पत्थरी र पित्त थैलीमा मासु पलाएको शल्यत्रिया भएका थिए । ‘अपरेशन गर्ने भनेपछि सोझै पोखरा जाने, महंगो खर्च गर्ने भन्दा सरकारी अस्पतालमा सजिलै गर्न सकिने सेवा लिन यो शल्यक्रियाले सन्देश दिएको छ’ मेडिकल सुपरिटेण्डेन्ट डा. अमित ढुंगानाले भने, ‘दक्ष चिकित्सक र उपकरणसमेत बागलुङमा उपलब्ध छन् ।’
अस्पतालमा सेवा छैन भन्ने अन्यौल हटाउन यस्ता अपरेशन उपयोगी भएको उनले बताए । बागलुङ नगरपालिका–२ का ३६ बर्षिय सन्तोष साकोटाको शल्यक्रिया भएको थियो । अपरेशनपछि सापकोटा बिहिबार डिस्चार्ज भैसकेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको ढुंगानाले जानकारी दिए ।