काठमाडौं, १८ मंसिर– नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह तीन दशमलव छ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ’ रिपोर्टअनुसार गत वर्षको तुलनामा यसवर्ष रेमिट्यान्स बढ्ने देखिएको हो । सन् २०२१ मा नेपालले आठ अर्ब २० करोड अमेरिकी डलर बराबर रेमिट्यान्स भित्राएको थियो ।
नेपालले रेमिट्यान्समार्फत आउने रकम मुद्दति निक्षेपमा राख्दा अतिरिक्त ब्याज दिने व्यवस्था गरेको, दैनिक पठाउन सकिने रकमको सीमा बढाएको र विदेशी मुद्रा बचत खाता खोल्न सकिने व्यवस्था लागू गरेपछि सकारात्मक प्रभाव देखिएको पनि रिपोर्टमा उल्लेख छ ।
कूल गार्हस्थ्य उत्पादन (जिडिपी) आकारको तुलनामा बढी रेमिट्यान्स भित्राउने मुलुकमा नेपाल अग्रस्थानमा छ । नेपालले सन् २०२२ मा कूल जिडिपीको २२ प्रतिशत बराबर रेमिट्यान्स आर्जन गर्ने अनुमान विश्व बैंकको छ ।