म्याग्दी, २८ मंसिर– जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ ।
आर्थिक संकलन गर्न मंसिर १५ देखि २२ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ आयोजक समितिका प्रचार–प्रसार संयोजक खगेन्द्र खत्रीले आम्दानी विवरण सार्वजनिक गरेका हुन् ।
महायज्ञमा ४४ मुरी धान र ६ मुरी जौँ संकलन भएको छ । सामान्य बिरामी हुँदा आधारभूत स्वास्थ्य सेवा लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले लगानी जुटाउन महायज्ञ सञ्चालन गरिएको थियो ।
महायज्ञका कार्यालय सचिव नीलकण्ठ सुवेदीले यज्ञबाट संकलन भएको ३० प्रतिशत रकम शिवालय मन्दिर सञ्चालनका लागि कोष खडा गर्ने र ७० प्रतिशत रकमलाई सामुदायिक स्वास्थ्य एकाइ स्थापनार्थ परिचालन गरिने जानकारी दिए ।
पूर्णगाउँमा दुई सयबढी घरधुरीको बसोबास छ । यो वडाको स्वास्थ्यचौकी कुहुँमा छ । पूर्णगाउँबाट कुहुँ पुग्न एक घण्टा पैदलयात्रा गर्नुपर्छ । स्वास्थ्य संस्था टाढा हुँदा औषधोपचारमा समस्या भएकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्न लागिएको महायज्ञ आयोजक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले बताए ।