बागलुङ, ५ पुस– वर्षाले भित्राउन ठिक्क परेको धानमा क्षति पुग्दा यसवर्ष बागलुङमा धान उत्पादन घटेको छ । गतवर्ष भन्दा यसवर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।
बागलुङ नगरपालिका वडा नं. ४ की स्थानीय तेजकुमारी केसीले अघिल्ला वर्षहरुमा १२ मुरी धान उत्पादन भएकोमा यसवर्ष भित्राउने बेलामा परेको पानीले क्षति पु¥याउँदा ७ मुरी मात्रै घर भित्राएको बताए । असोज अन्तिम साताको वर्षाले ५० प्रतिशत धानबालीमा नोक्सान भएको किसानले गुनासो गर्दै आएका छन् ।
कृषिज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईका अनुसार, बेमौसमी वर्षाका कारण बागलुङका किसानले यसवर्ष समस्या भोग्नुपरेको हो । अहिले पनि बागलुङ धानमा आत्मनिर्भर नरहेको भन्दै वर्षाले थप नोक्सानी गरेको उनको भनाई छ ।
‘समयमै वर्षा र धान रोपाइको क्षेत्र बढेकाले यसवर्ष धान उत्पादन बढ्ने आँकलन थियो’ भट्टराईले भने, ‘बेमौसमी वर्षाले केही ठाउँमा क्षति पुग्दा धान उत्पादन घट्यो ।’ यसवर्ष ६ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।
गतवर्ष १८ हजार ३ सय ५४ मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष १८ हजार ६ सय ९० मेट्रिक टन धान उत्पादन भएको छ । तुलनात्मक रुपमा खेतीयोग्य जमिन बढ्दा उत्पादन पनि बढ्नुपर्ने हो, तर त्यस्तो हुन सकेन’ भट्टराईले भने ।
बागलुङमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छभने ६ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । सोमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र २ हजार ७ सय ७५ हेक्टर रहेको छ ।