बागलुङ, १० पुस– जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङको ११ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संघले आवद्ध सहकारी संस्थाका प्रतिनिधीलाई धितो लिलामी तथा कानुनी प्रक्रिया सम्वन्धी प्रशिक्षण गर्दै साधारणसभा गरेको हो ।
साधारणसभा तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले देशको सम्मृद्धि र आम नेपालीको आर्थिक विकासका लागि सहकारी महत्वपूर्ण रहेको बताए । ‘देशको अर्थतन्त्र र नागरिकलाई आत्मनिर्भर बनाउने अभियानमा सहकारीको महत्वपूर्ण योगदान छ’ श्रेष्ठले भने ।
कार्यक्रममा संघका सल्लाहकार कोपिलामणी शर्मा, बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेमप्रसाद शर्मा पौडेल, स्वास्थ्य सहकारी संघका अध्यक्ष सिता शर्मा र पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारीले बोलेका थिए ।
सो अवसरमा नेफस्कुनका कानुनी सल्लाहकार शिव अधिकारीले सहकारीबाट ऋण लगेर नतिर्ने परिपाटीलाई कम गर्न र असुली गर्नका लागि संस्थाले अपनाउनुपर्ने धितो लिलामी तथा कानुनी प्रक्रियाका वारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा संघ सचिव ऋषीराम गौतमले प्रगति तथा कोषाध्यक्ष लिलादेवि खड्काले आयव्यय बिवरण प्रस्तुत गरेका थिएभने गत आर्थिक बर्षमा संघका उत्कृष्ट कारोवार गर्ने सिवाइसी बचत तथा ऋण सहकारी संस्था र बलेवा एकता बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको थियो ।
कार्यक्रम संघका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षता, उपाध्यक्ष गणेश खत्रीको स्वागत र सचिव ऋषीराम गौतमको संचालनमा सम्पन्न भएको थियो ।